काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एकैदिन विशेष साधारणसभा डाकेका छन्। 

दुवै कम्पनीले यही वैशाख २५ गते विशेष साधारणसभा डाकेका हुन्। युनाइटेडको काठमाण्डौको संखमूलस्थित अनमोल ब्यांक्वेटमा र अजोडको काठमाण्डौको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

दुवै सभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई स्वीकृत गर्नेछ। मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने विशेष प्रस्ताव दुवै सभाले पारित गर्नेछन्। 

मर्जर प्रयोजनका लागि युनाइटेड र अजोड इन्स्योरेन्स सेयर स्वाप रेसियो १००ः८२.५ काम गर्ने विशेष प्रसताव दुवै सभाले अनुमोदन गर्नेछन्। मर्जर प्रयोजनका लागि अहिलेसम्म भएको सम्झौतालगायतका सम्पूर्ण कार्य सभाले स्वीकृत गर्नेछन्। 

नियमनकारी निकायबाट मर्जर प्रक्रियाको अन्तिम स्वीकृति लिनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि दुवै सभाले पारित गर्नेछन्। 

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको सुन्धारामा रहनेछ। मर्जरपछि कम्पनीको संस्थापक तथा सर्वसाधारणको सेयर स्वामित्व फेरबदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव दुवै सभाले पारित गर्नेछन्। 

विशेष साधारणसभा प्रयोजनार्थ अजोडले वैशाख १२ गते र युनाइटेडले वैशाख १३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। बुक क्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।