काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको मंगलबार (माघ ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरवाहस्थित टाइगर प्यालेस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ। 

सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँको ८.९७ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गर्नेछ। 

बोनस सेयर वितरणपछि चुक्तापुँजी र जारीपुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० रहेको छ। 

सभाले युनियन लाइफ, प्राइम लाइफ र गुराँ लाइफ इन्स्योरेन्सबीच आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौता, कम्पनीको सेयर कारोबार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य गर्न लेखापरीक्षक तथा परामर्शदाता नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने गरी भएको सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्नेछ। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।