काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ। 

रुपन्देहीको भैरवाहस्थित टाइगर प्यालेस रिसोर्टमा सम्पन्न सभाले आर्थिक वर्ष २०७७–७८का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँको ८.९७ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गरेको हो। बोनस सेयर वितरण गर्दा लाग्ने करबापतको रकम सेयरधनी स्वयंले भुक्तानी गर्नुपर्ने प्रस्ताव पारित गरेको छ।

बोनस सेयर वितरणपछि चुक्तापुँजी र जारीपुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ। 

सभाले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ। हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० रहेको छ। 

सभाले युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौता, कम्पनीको सेयर कारोबार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य गर्न लेखापरीक्षक तथा परामर्शदाता नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने गरी भएको सञ्चालक समितिका निर्णयहरु अनुमोदन गरेको छ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ। 

सभाको अध्यक्षता गरेका सञ्चालक सन्दीपकुमार अग्रवालले आगामी दिनमा कम्पनीका सेयरधानीहरुलाई अधिकतम प्रतिफल प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए। उनले कम्पनी मर्ज पश्चात पनि निरन्तर सेयरधनीहरुको हितमा कार्य गर्ने प्रतिबद्धता गरे। 

यसैगरी सञ्चालक सचिन आचार्यले सेयरधनीलाई विश्वासलाई सदैव सम्मान गर्दै अघि बढ्ने बताए। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले आगामी दिनमा कम्पनीको कामकारबाहीलाई प्रभावकारी बनाई नयाँ उचाइमा पुर्याउने बताए।