-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । यो साता धितोपत्र बजारमा तीन दिन मात्र कारोबार भएको छ । 
तीन दिनमा बजार भने लगातार तीन दिननै घटेको छ । अघिल्लो साता २ हजार १०९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६८.९ विन्दुमा बन्द भएको छ । यसले यो साता ४०.२ अंक घटेर बजार बन्द भएको देखाउँछ ।

अघिल्लो साता भने बजार करिब ११४.५ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा तीन कारोबार दिनमा जम्मा १६.६५ अर्ब रुपैयाँको कारोबार भएको छ । यो भनेको औसतमा दैनिक कारोबार रकम ५.५५ अर्ब रुपैयाँ हो ।  
 

यस्तो कारोबार अघिल्लो साताको पाँच कारोबार दिनमा ३१ अर्ब २९ करोड रुपैयाँको भएको थियो । यो भनेको  औसतमा दैनिक कारोबार ६.२६ अर्ब रुपैयाँ हो ।

यसरी हेर्दा यो साता दोस्रो बजारमा सूचक र कारोबार दुबैमा गिरावट आएको छ । यो साता बजार पूँजीकरण ३२ खर्ब १३ अर्व  ८९ करोड रुपैयाँ माथि पुगेको छ । 
 

यो तथ्यांकले अघिल्लो साताको तुलनामा बजार पूँजीकरण करिब ६३  अर्ब रुपैयाँले घटेको देखाउँछ ।  यसले यो साता दोस्रो बजारमा नेप्से परिसूचक, कारोबार र बजार पूँजीकरण सबैमा गिरावट आएको देखाएको छ ।
प्राविधिक पक्ष :
इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् ।  त्यस्ता डिग्रीहरु साना ठूला गरेर  एकदिनदेखि  १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् ।  इलिअट वेभमा मूल्यमाथि जान पाँच वटा फरक फरक वेभ हुन्छन् भने तल जान तीन- तीन वटा वेभ हुन्छन् ।

माथि लाग्ने पाँच वटा वेभमा पनि तीन वटा चडावका र दुई वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सी मूल्य तल जाने संकेत हो ।
 

यो साताको बजारलाई लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र र कारोबार र भोलुमसमेतको आधारमा हेर्दा हालको करेक्सन वेभ ४ चलेको देखिन्छ । जसलाई कारोबार र भोलुमले पनि पुष्टि गरेको छ ।

फिवोनासीमार्फत् हाल चलेको करेक्सनलाई नियाल्दा  फिवोनासीको ०.३८ प्रतिशत करेक्सन भएर बजार २  हजारदेखि २ हजार ३० आसपाससम्म आउन सक्छ । त्यसपछिको वेभ ५ भनेको करिब २ हजार २४० देखि २ हजार २८० सम्म पुगेर मात्रै  बजारमा ठूलो करेक्सन अर्थात् वेभ  एबीसी चल्न सक्छ । यो करेक्सनले केहि समय ‘टाइम करेक्सन’ लिन सक्छ । अर्थात् पुसको महिना बजार साइड वेज नै चल्ने तर २ हजार विन्दुभन्दा तल नर्झन पनि सक्छ । त्यसपछि भने बजारमा एक्सटेन्डेड वेभ ५ चल्न सक्छ । 
बोलिङगर म्याक्डी आरएसआई :
यो साताको बजारलाई बोलिङगर ब्यान्डमार्फत् नियाल्दा यो साता अपर ब्यान्डमा छोएर करेक्सन आएको छ । यसअघि पनि अपर ब्यान्डमा शुटिङ स्टार बनेपछि बजारमा करेक्सन आएको थियो । म्याक्डीमार्फत् हेर्दा भने अघिल्लो साता बनेको बुलिस क्रसओभर भ्यालिड नै छ ।

हिस्टोग्राम सकारात्मक र लामो लामो हुँदै गएका छन् । आरएसआईमार्फत् नियाल्दा पनि बजार साप्ताहिक रुपमा  ६१ को तहमा पुगेर बजार ५७ को तहमा बन्द भएको छ । यसअघि पनि धेरै पटक यहि विन्दुमा पुगेर बजारमा करेक्सन भएको थियो । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा अल्पकालिन करेक्सन हुन सक्ने देखिन्छ । 

पिभट् विश्लेषणको आधारमा :
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 
प्रतिरोध ३ –२१५५
प्रतिरोध २ –२१३२
प्रतिरोध १– २१०१
पिभट प्वइन्ट ः २०७८

घटेमा सपोर्ट 
सपोर्ट १– २०४८
सपोर्ट २– २०२५
प्रतिरोध ३ –१९९३
निष्कर्ष : अघिल्लो साता करिब  ११४.५  अंकले बढेको बजार यो साता ४०.२ अंकले करेक्सन आएको छ  । यो साता बजार घट्दा  लगानीकर्ताले ६३ अर्ब रुपैयाँ बराबर गुमाएका छन् । कारोबार र सूचकमा पनि गिरावट आएको छ । आधारभुत रुपमा यो साताको बजारमा सामानय रुपमा रह्यो ।

प्राविधिक रुपमा पनि यो साताको बजारमा म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक बनेको छ । अघिल्लो साता करेक्सन भएको बजारले यो साता पनि निरन्तरता पाएको अवस्था छ ।  फिवोनासी र इलिअट वेभमार्फत् बजारको पछिल्लो अवस्थालाई नियाल्दा हालको करेक्सन फिवनासीको ०.३८ प्रतिशतसम्म करेक्सन हुन्छ भने त्यो २ हजार विन्दुसम्म हुन सक्छ ।

यो भनेको बजार पुनः माथि जाने आधार बन्दै गरेको भन्ने नै हो । किनकि यसले बजारमा प्रवेश गर्न छुटेकाहरुलाई पनि समटेर लाँदै गरेको भन्ने हुन्छ । प्राविधिक रुपमा यो अवस्थालाई भन्नु पर्दा बजारले डाउ थेउरीमा हाएर लो बनाउँदै गरेको छ भन्ने हो । जसलाई मार्केट्मा इन्ट्रि प्वइन्टको रुपमा पनि बुझिन्छ । इलिअट वेभमा पनि बजरले एउटा सानो करेक्सन केहि समय लिएर पुनः माथिको यात्रा तय गर्दै छ भन्ने नै हो ।

यो साता बजारले २ हजार ६० विन्दुमा बलियो सपोर्ट लिएको देखिन्छ । यदि आगामी साता यो विन्दुभन्दा माथि माथि टिकेमा बजार केहि अंकले माथि जान सक्छ । अन्यथा  यदि बजार २ हजार ६०  विन्दुभन्दा तल बन्द हुन्छ भने बजारले केहि अंक गुमाउन पनि सक्छ । विभिन्न इन्डिकेटर सुपर ट्रेन्ड र इचिमोकुमार्फत् नियाल्दा भने बजार हालसम्म पनि बुलिस नै देखिन्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)