-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भएको छ । पाँच कारोबार दिनमा बजार चार दिन बढ्यो भने एक दिन घटेको छ ।

अघिल्लो साता १ हजार ८५२.७७ विन्दुमा बन्द भएको बजार यो साता १ हजार ९९४.६० मा बन्द भएको छ । यस हिसावले यो साता सेयर बजार १४१.८३ अंकले बजार बढेर बन्द भएको छ । अघिल्लो साता सेयर बजार १.६७ अंकले मात्रै घटेको थियो ।

यो साता भने सेयर बजारमा लामो समयपछि १६.६९ अर्ब रुपैयाँको कारोबार भएको छ । यस्तो कारोबार अघिल्लो साता ७.३८ अर्ब रुपैयाँको मात्रै भएको थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गरेलगत्तै यो साता दोस्रो बजारमा कारोबार र सूचक दूबैमा बढोत्तरी आएको छ । यो साता बजार पूँजीकरण ३० खर्व ७६ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तो बजार पूँजीकरण अघिल्लो साता २८ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको थियो । यो साता  बजार पूँजीकरण २ खर्ब ११ अर्ब रुपैयाँले बढेको छ । यो साता दोस्रो बजारमा असार महिनापछि उच्च कारोबार भएको छ । यस हिसाबले हेर्दा यो साता छ महिनापछि उच्च कारोबारका साथ उच्च अंक बृद्धिले भएर सेयर बजारमा कारोबार भएको छ । 
प्राविधिक पक्ष :
इचिमोकू 
जापानी इन्डिकेटर ‘इचिमोकू’ क्लाउडअन्तर्गत यो साता  नेपालको सेयर बजार चार्टको बेस लाइन र कन्भर्जन लाइनमा बुलिस क्रसओभर देखिएको छ ।

इचिमोकू क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानी नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो। यसपछि यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो। 

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ। इचिमोकू क्लाउडअन्तर्गत यो साता सेयर बजारमा मूल्य रेखाहरु क्लाउड पोजिसनभन्दा माथि गएका छन् । २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउड पोजिसनमा भित्र छिरेको छ ।

तर क्लाउडको पोजिसन हरियो नै भइहालेको अवस्था भने होइन । अर्थात् यो इन्डिकेटरबाट बजारको अवस्थालाई सरल भाषामा भन्दा इचिमोकूका ६ वटा  इन्डिकेटर मध्ये तीन वटाले बजार बुल यात्रामा चल्न सक्ने देखाएको छ भने तीन वटाले अझै कन्फरमेसन दिएको छैन । 
बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा :
साप्ताहिक चार्टमा बजारलाई बोलिङगर ब्यान्डमार्फत् हेर्दा यो साता बनेको क्यान्डलले मध्ये ब्यान्ड ब्रेक गरेर माथि गएको छ । योसँगै यो साता बनेको क्यान्डलले यसअघि बनेका आठ वटा क्यान्डललाई पूरै कभर गरेको छ ।कारोबार तथा  भोलुममार्फत् हेर्दा यो साता छ महिनापछि उच्च कारोबार भएको छ । साप्ताहिक चार्टमा नै यो साताको आरएसआइ मार्फत् हेर्दा न्युट्रल जोन ५० को तहबाट माथि ५३ को तहमा पुगेको छ ।

मनी फ्लो इन्डेक्सबाट पनि बजारलाई हेर्दा यस्तो विन्दु न्युट्रल जोनबाट माथि ५४ मा पुगेको छ । म्याक्डीमार्फत् हेर्दा हिस्टोग्राम नेगेटिभ रहेता पनि छोटा छोटा हुँदै गएका छन् तर बुलिस क्रसओभर चाहिं भइहालेको अवस्था भने छैन ।  समग्रमा चारवटै इन्डिकेटरबाट हेर्दा बजार अप ट्रेन्डतर्फ जाँदै गरेको छ तर कन्फरमेसन भने नमिलेको अवस्था छ । 

सुपर ट्रेन्डको आधारमा :
सुपर ट्रेन्डको  आधारमा  यो साता बजारले बुलिसक्रस ओभर बनाएको छ । मूल्य रेखाले बजार सुपर ट्रेन्डलाई क्रस गरेर माथि गएको छ । योसँगै सुपर ट्रेन्डको रङ पनि रातोबाट हरियो बनेको छ । 

पिभट् विश्लेषणको आधारमा :
पिभट् विश्लेषण, सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानेर यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –१९४०
प्रतिरोध २ –१९०६
प्रतिरोध १– १८८३
पिभट प्वइन्ट : १८४५

घटेमा सपोर्ट :
सपोर्ट १– १८२६
सपोर्ट २– १७९३
प्रतिरोध ३ –१७७०

निष्कर्ष : अघिल्लो साता झिनो अंकले घटेको बजार यो साता १४२ अंकले बढ्यो । यो साता  यसरी बजार बढ्दा लगानीकर्ताले २ खर्ब ११ अर्ब रुपैयाँ कमाएका छन् । कारोबार र सूचक दूबै छ महिनापछि उच्च बनेको छ । आधारभुत रुपमा यो साताको बजार निकै उत्साहजनक रह्यो । प्राविधिक रुपमा पनि यो साताको बजारमा इचिमोकू र बोलिङगर ब्यान्डमार्फत् बजार माथिको यात्रा तय गरेको देखिन्छ । तर कन्फरमेसन नै भइहालेको अवस्था भने छैन ।

डेली बेसमा बजारलाई आरएसआईमार्फत् नियाल्दा करिब ओभर बट जोनमा पुगेको अवस्था रहेकोले आगामी साता केहि दिन अल्पकालिन करेक्सन पनि आउन सक्छ । जसलाई खरिद अवसरको रुपमा पनि लिन सकिन्छ ।

डाउ थेउरीबाट बजारलाई नियाल्दा करिब १ हजार ८३५ को विन्दुबाट बढेको बजार आगामी दिनमा एक पटक हाएर लो बनाउन फिवनासीको ०.५० प्रतिशत अर्थात् १ हजार ९१९ विन्दुसम्म करेक्सन हुन पनि सक्छ ।

बजारलाई इलिअट वेभबाट नियाल्दा आगमी साता  सानो समय अवधिको वेभ ४ चल्ने र थोरै अंकले करेक्सन हुन सक्छ । त्यसपछिको बजार वेभ ५ भने करिब २ हजार १०० विन्दुसम्म पुगेर मात्रै सकिन सक्ने सम्भाबना छ। 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन । )