काठमाण्डौ । चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफा १८४.१२ प्रतिशतले बढेको र रिजर्ब ६९.३६ प्रतिशतले घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यो अवधिमा कम्पनीले संभावित जोखिम व्यवस्थापन कोषबाट १ करोड ३४ लाख राइट ब्याक गरेको देखिन्छ ।
लघुवित्तले समीक्षा अवधिमा १ करोड ८५ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा खूद नाफा ६५ लाख ४२ हजारमा सीमित थियो ।
कम्पनीले संचालन मुनाफातर्फ पनि राम्रै प्रगति गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ करोड २ लाखमा सीमित यस्तो मुनाफा बढेर यो वर्ष १ करोड ५७ लाखको उचाईमा पुगेको हो ।
व्यवसाय वृद्धिमा ध्यान दिएका कारण कम्पनीको खूद ब्याज आम्दानी ८६.१४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ३ करोड ४३ लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष ६ करोड ३९ लाखको उचाईमा पुगेको छ ।
समीक्षा अवधिमा चौतारी लघुवित्तले ३९ करोड ७५ लाख निक्षेप संकलन गरी तथा ७४ करोड ३९ लाख सापटी लिएर १ अर्ब ३३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसँग तुलना गर्दा निक्षेप १२५.३२ प्रतिशतले बढेको छ भने कर्जा बिस्तार ११६.९७ प्रतिशतले बढेको छ । सापटीतर्फ पनि ११९.४३ प्रतिशतको वृद्धि देखिएको छ ।
अधिकांश सूचक राम्रो देखिए पनि कम्पनीको रिजर्बको आकार भने निकै घटेको छ, यो खराब संकेत हो । अघिल्लो वर्षसम्म १० करोड ९५ लाख रुपैयाँको रिजर्ब यो वर्ष घटेर ३ करोड ३५ लाखमा सीमित बन्न पुगेको हो ।
अघिल्लो वर्षको तुलनामा ७८६ प्रतिशतको हाराहारीमा चुक्तापूँजी बढाएको कम्पनीले त्यसको अनुपातमा नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानीतर्फ ६८ प्रतिशतको पहिरो व्यहोरेको छ । अघिल्लो वर्ष ४१.५४ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर यो वर्ष १३.३३ रुपैयाँमा सीमित बनेको हो ।
समीक्षा अवधिमा चौतारी लघुवित्तले खराब कर्जालाई घटाएर ०.७२ प्रतिशतमा सीमित बनाएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो कर्जा ०.९१ प्रतिशतको अनुपातमा थियो ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ११८.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.४५ गुणा कायम भएको छ ।
कम्पनीले गत वर्षको तुलनामा कस्ट अफ फण्डलाई घटाउने सफलता पाएको देखिन्छ । अघिल्लो वर्ष यही अवधिमा ११.२९ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर यो वर्ष ८.११ प्रतिशतका सीमित भएको हो ।
यो कम्पनीले १५ जिल्ला कार्यक्षेत्र भई ५७ शाखा सञ्जालमार्फत कुल ३९४८९ जना विपन्न महिलाहरुलाई समुहमा आवद्ध गरी कर्जा तथा बचत सेवाको माध्यमबाट आर्थिक एवं सामाजिक विकासमा टेवा पुर्याउँदै आएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19