काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको साधारण सेयरका प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

कम्पनीको पहिलो साधारणसभाले निकट भविष्यमै आइपीओ निश्कासने गर्ने प्रस्ताव पारित गरेको हो । 

कम्पनीले यसअघि नै चुक्तापूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको थियो । 

हाल यो कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यसमध्ये १ अर्ब ४७ करोड रुपैयाँ संस्थापक शेयरधनीबाट संकलन भएको र बाँकी ६३ करोड रुपैयाँ सर्वसाधारणको लगानी भित्र्याउने योजना रहेको कम्पनीले जनाएको छ । यो हिसाबले सर्वसाधारणले ६३ लाख कित्ता आइपीओ खरीदको अवसर पाउनेछन् । 

यसैबीच, रिलायन्स लाइफ इन्स्योरेन्सको पहिलो साधारणसभाले संचालक समितिले अध्यक्षमा ताराचन्द केडियालाई सर्वसम्मत चयन गरेको छ ।अन्य संचालकहरुमा भारतकुमार तोदी, जगदीश कुमार अग्रवाल , अमितकुमार बेगानी र सुन्दर कँडेल छानिएका छन् ।

सिद्धार्थ बैंक र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित यस कम्पनीले हाल ५ वटा जीवन बीमा योजनाबाट ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । निकट भविष्यमा थप ३ वटा बीमा योजना अघि ल्याउने कम्पनीको योजना छ ।