काठमाण्डौ । युक्रेनमा जारी युद्धबीच रुसले पश्चिमी देशहरुविरुद्ध कठोर कदम चाल्ने भएको छ। 

पोल्यान्ड र बुल्गेरियामा रुसी ग्यासको सप्लाई बन्द गरिने भएको छ। रुसको सरकारी ग्यास सप्लाई कम्पनीले यी देशलाई रुबलमा भुक्तानी गर्न भनेको थियो। तर, यी देशले रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि रुसी ग्यासको सप्लाई बन्द गरिने भएको हो। 

समाचार एजेन्सी पीटीआईका अनुसार युरोपेली युनियन र नेटोका यी दुई सदस्य राष्ट्रलाई ऊर्जा क्षेत्रको दिग्गज कम्पनी गाजप्रोमले बुधबारदेखि ग्यास आपूर्ति बन्द गरिने जानकारी गराएको छ। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना ‘गैरसहयोगी राष्ट्रहरु’ले डलरको सट्टा रुबलमा भुक्तानी गर्नुपर्ने घोषणा गरेका थिए। यो घोषणापछि पहिलोपटक रुसले कुनै देशलाई ग्यास सप्लाई बन्द गरेको हो। 

रुसको आक्रमणपछि पोल्यान्डले आफ्नो छिमेकी राष्ट्र युक्रेनलाई समर्थन गर्दै आएको छ। अमेरिका र अन्य पश्चिमी मुलुकबाट युक्रेनमा पठाइने हतियारको ट्रान्जिट पनि पोल्यान्ड नै हो।

पोल्यान्ड सरकारले यही साता युक्रेनी सेनालाई ट्यांकहरु पठाउँदैछ। यसबाहेक मंगलबार पोल्यान्डले गाजप्रोमसहित ५० रुसी कम्पनी र व्यवसायीमाथि प्रतिबन्धको घोषणा गरेको छ।

युरोपले जाडोयाममा घरायसी प्रयोजन, विद्युत उत्पादन र इन्धन उद्योगका लागि रुसबाट ठूलो मात्रामा ग्यास आयात गर्नेछ। –एजेन्सी