काठमाण्डौ । भारतले सन् २०२२ मा रुसबाट १० गुणा बढी कच्चा तेल आयात गरेर अर्बौं रुपैयाँ बचत गरेको छ। 

बैंक अफ बडौदाका अनुसार भारतले रुसबाट कच्चा तेल खरिद गरेर ५ अर्ब डलर अर्थात भारु करिब ४० हजार करोड रुपैयाँ बचत गरेको हो। भारतले यस्तो रुसी तेलको आयात बढायो जतिबेला युक्रेनमाथि आक्रमण गरेकोमा रुसमाथि पश्चिमा देशहरुले प्रतिबन्ध लगाएका थिए। 

प्रतिबन्धका बाबजुत पछि नहट्ने अडानसहित रुसले चीन र भारतजस्ता देशहरुलाई कम मूल्यमै तेल बेच्न सुरु गर्यो। सन् २०२१मा युक्रेनसँगको युद्धभन्दा अगाडि भारतमा आयात हुने तेलमा रुसको हिस्सेदारी २ प्रतिशतमात्र हुन्थ्यो। बैंक अफ बडौदाका अनुसार अहिले हिस्सेदारी २० प्रतिशत नजिक पुगेको छ। 

भारतले गत वर्ष रुसबाट आयात गरेको तेलमा प्रतिटन करिब भारु ७ हजार ३०० रुपैयाँ बचत गरेको छ। –एजेन्सी