काठमाण्डौ । रु. २५ लाख वा सोभन्दा कम हायर पर्चेज लोन लिनका लागि स्थायी लेखा नम्बर(प्यान) अनिवार्य नहुने भएको छ । 

नेपाल राष्ट्रबैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०७०’ को तेश्रो संसोधन २०७८ लाई समेत संसोधन गरी ‘चौथो संसोधन २०८०’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

हायर पर्चेज दिने कम्पनीले ऋणिसँग पान नम्बर(स्थायी लेखा नम्बर) लिनुपर्ने भए पनि २५ लाख वा सोभन्दा कम रकमको ऋणमा यसलाई अनिवार्य नगरिएको हो । 

यस्तै, हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिंदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन समेत नपाउने व्यवस्था गरिएको छ। 

साथै, कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ ।

पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाइने व्यवस्था समेत गरिएको छ । 

साथै, यस्तो कम्पनीको सञ्चालक/प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुखका लागि अयोग्य हुने अवस्थाको समेत व्यवस्था गरिएको छ । जसअनुसार क) प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइनसकेको, ख) टाट पल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको, ग) कालोसूचीमा समावेश भएको वा त्यस्तो सूचीबाट फुकुवा भएको ३ वर्ष नपुगेको, घ) आफ्नो पूर्व कारोबारमा यस बैंकबाट निलम्बन गरिएको वा यस बैंकबाट भएको अनुसन्धानमा शंकास्पद कारोबारमा संलग्न भनी किटान गरिएको वा त्यस्तो निलम्बनवाट फुकुवा भएको पाँच वर्ष नपुगेको वा त्यस्तो शंकास्पद कारोबारको संलग्नताबाट सफाई नपाएको व्यक्ति हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीको सञ्चालक, प्रबन्ध सञ्चालक वा कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गरिएको हो । 

यस्तै, कार्यकारी प्रमुख वा प्रबन्ध सञ्चालक हुनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने व्यवस्था समेत गरिएको छ । 

संसोधित व्यवस्थामा हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनील्े कम्पनीको नाम पछाडि हायर पर्चेज प्रालि राख्नुपर्ने भएको छ । यसअघि अन्य नामबाट यस्तो कर्जाको कारोबार गर्नेले समेत कम्पनीको नाममा हायर पर्चेज प्रालि उल्लेख गर्नुपर्ने व्यवस्था भएको छ ।