काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा २ अर्ब २७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो नाफा १ अर्ब ७७ करोडमा सीमित थियो । 

समीक्षा अवधिका लागि सानिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापूँजी ९ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । 

बैंकले अन्य वित्तीय सूचकहरुमा पनि राम्रै प्रगति गरेको देखिएको छ । अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ५२ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ३ अर्ब २४ करोड पुगेको छ भने ४ अर्ब १८ करोडमा सीमित खूद ब्याज आम्दानी सामान्य बढी ४ अर्ब ५२ करोडको उचाईमा पुगेको छ । 

रु. १ अर्ब १९ करोडमा सीमित रिटेल अर्निंग बढेर १ अर्ब ६८ करोड पुगेको छ भने २ अर्ब ८२ करोडमा सीमित रिजर्बको आकार बढेर ३ अर्ब ४९ करोड पुगेको छ । 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकले १ खर्ब ७ अर्ब बढी निक्षेप संकलन गरी ९० अर्ब ८५ करोड बढी कर्जा परिचालन गरेको थियो । 

नाफामा सुधार भएसँगै बैंकको प्रतिसेयर आम्दानी(इपीएस)मा पनि सुधार देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २०.१८ रुपैयाँ रहेको इपीएस बढेर २३.५१ रुपैयाँको उचाईमा पुगेको छ । 

बैंकले कोरोनाकालमा समेत खराब कर्जाको असूलीमा ध्यान दिएको देखिन्छ । फलस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म ०.४५ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष ०.१६ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिसम्म बैंकको कोष लागत ४.७५ प्रतिशत, सीडी रेसियो ८२.३१ प्रतिशत, आधार दर ६.३४ प्रतिशत, मूल्य आम्दानी अनुपात २०.६३ गुणा, प्रतिसेयर नेटवर्थ १५३.६० रुपैयाँ र तरलता अनुपात २२.१५ प्रतिशत रहेको छ ।