काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ । 

यो कम्पनीले अधिकांश प्रमुख सूचकमा प्रगति गर्दै गएको देखिएको हो । 

अघिल्लो वर्षको यही अवधिमा ६ करोड ६६ लाखमा सीमित खूद नाफा बढाएर यो वर्ष ७ करोड ९१ लाखको उचाई चुमाएको कम्पनीले १० करोड २४ लाखमा सीमित संचालन मुनाफा समेत बढाएर १२ करोड २५ लाख पुर्याएको छ । 

अघिल्लो वर्ष १७ करोड ६० लाखमा सीमित खूद ब्याज आम्दानी २१ करोड ४२ लाखको  उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा लक्ष्मी लघुवित्तले १ अर्ब १८ करोड निक्षेप संकलन गरी तथा १ अर्ब ८६ करोड सापटी लिई ३ अर्ब ३७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८६ करोड ८० लाख निक्षेप संकलन गरी तथा १ अर्ब ५६ करोड सापटी लिएर २ अर्ब ५९ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष यही अवधिमा १७ करोड ८१ लाखमा सीमित रिजर्ब बढेर यो वर्ष २१ करोड ३७ लाखको उचाईमा पुगेको छ भने १.२१ प्रतिशतमा सीमित खराब कर्जा भने बढेर १.३७ प्रतिशतको अनुपातमा पुगेको छ । 

समीक्षा अवधिमा लक्ष्मीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४३.६१ रुपैयाँको उचाईमा पुगेको छ, यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १८.८५ प्रतिशतले बढी हो । 

कम्पनीको प्रतिसेयर नेटवर्थ १८८.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.६६ गुणा कायम भएको छ ।