काठमाण्डौ । बैंक अफ काठमाण्डू लगानीका लागि आकर्षक वाणिज्य बैंक बनेको छ । 

पहिलोपटक अर्ब क्लबमा प्रवेश गर्दै यो बैंकले खूद नाफातर्फ ८९ प्रतिशतको फड्को मार्दै यो बैंकले १ अर्ब २३ करोड कमाउने सफलता पाएको हो । अघिल्लो वर्षको चौथो त्रैमाससम्म यो बैंकको खूद नाफा ६५ करोड ५२ लाखमा सीमित थियो । 

व्यवसाय बिस्तारमा आक्रामक नीति सफल भएका कारण यो बैंकको खूद ब्याज आम्दानी करिब १ अर्ब २ करोडले बढेको छ । अघिल्लो वर्ष १ अर्ब ५४ करोडमा सीमित यस्तो आम्दानी वृद्धि भई यो वर्ष २ अर्ब ५६ करोडको उचाईमा पुुगेको हो । 

अघिल्लो वर्ष ९९ करोड २६ लाखमा सीमित संचालन मुनाफा बढाएर बैंकले १ अर्ब ६२ करोडको उचाईमा पुर्याएको देखिन्छ । 

यो अवधिमा बैंकले ७२ अर्ब १३ करोड निक्षेप संकलन गरी ६२ अर्ब ५४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ६७ अर्ब ८३ करोड निक्षेप संकलन गरी ६० अर्ब ३१ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकले यो अवधिमा रिजर्ब कोषलाई पनि मजबुत बनाएको छ । अघिल्लो वर्ष २ अर्ब १४ करोड रुपैयाँ रहेको कोषमा आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ३ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ । बैंकले १७ करोड भन्दा बढी राइट ब्याक गरेको छ । हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । 

यो अवधिमा बैंकले खराब कर्जाको अनुपातलाई समेत घटाएको छ । अघिल्लो वर्षसम्म २.५१ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जा घटेर यो वर्ष १.४६ प्रतिशतमा झरेको छ । धेरै बैंकको कस्ट अफ फण्ड निकै माथि पुुग्दा समेत यो बैंकले भने ५.३७ प्रतिशतको सीमामा राखेको छ, यो लागत अघिल्लो वर्षको भन्दा केही मात्र बढी हो । 

यो अवधिमा बैंकको प्रति सेयर आम्दानी २२.०१ रुपैयाँ, प्रति सेयर नेटवर्थ १५८.९८ रुपैयाँ, प्रति सेयर खूद सम्पत्ति मूल्य १५३२.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.९९ गुणा कायम भएको छ।