काठमाण्डौ । पछिल्लो समय अर्थतन्त्रलाई तहसनहस पारेको दोष नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको टाउकोमाथि थोपरेर उनीविरुद्ध गालीको वर्षा गर्ने लहरजस्तै चलेको छ । 

सेयर लगानीकर्ताहरुले गभर्नर अधिकारीलाई उनले लिएको नीतिका कारण ‘बजारको शत्रू’को रुपमा चित्रण गरिरहेका छन् । कतिपय सेयर कारोबारी त उनलाई हरेक दिनजसो गाली गर्दा समेत थाकिरहेका हुँदैनन् । 

सेयर बजारका लगानीकर्ताहरुबाट सुरु भएको गभर्नरप्रतिको असन्तुष्टि भूसको आगो झै अहिले देशभर फैलिएको छ । लगानी र आर्थिक गतिविधिसँग जोडिएका धेरैले पछिल्लो समय गभर्नरको कार्यशैली, उनले लिएको नीति–निर्देशनको चर्को आलोचना गरिरहेका छन् । 

कार्यकालको सुरुवातदेखि नै ‘एमाले कार्यकर्ता’को ट्याग लागेका गभर्नर अधिकारीलाई पछिल्लो समय एमालेकै अध्यक्षदेखि सो पार्टीबाट अर्थमन्त्री भइसकेका नेताहरुले समेत आलोचना गर्न बाँकी राखेका छैनन् । हुँदा हुँदा आफूलाई पोलिटिसियन कम र टेक्नोक्र्याट बढी भन्न रुचाउने गभर्नर अधिकारीकै गुरु समेत भनेर चिनिने पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले समेत राष्ट्रबैंकले लिएको नीति खुकुलो बनाइनुपर्ने भन्दै गभर्नर अधिकारीको कार्यशैलीको आलोचना गरिरहेका छन् । 

आफ्ना भनिएका झुण्डले समेत आलोचना गर्न थालेपछि त्यसबाहेकका अरुले समेत आलोचना नगर्ने कुरै भएन । सर्वत्र आलोचना सुरु भएपछि गभर्नर महाप्रसाद अधिकारीले पनि पछिल्लो समय त्यसको डिफेन्स गरिरहेका छन् । उनले पनि पछिल्लो समय आफूमाथि लागेका आरोपहरुको खण्डन गर्न थालेका छन् । ‘म र राष्ट्रबैंकविरुद्ध छरिएका भ्रमहरु चिर्नुछ’ भन्दै उनले विभिन्न फोरमहरुमा बोल्ने क्रमले तीव्रता पाएको छ। 

गभर्नरविरुद्धका यस्ता चर्को आलोचनाले बिहीबार पनि निरन्तरता पायो । अझ रोचक त देशका प्रमुख कार्यकारी सहभागी कार्यक्रमका वक्ताहरुले लाइन लागेरै गभर्नरको कार्यशैली र उनले नेतृत्व गरिरहेको राष्ट्रबैंकले लिएको नीतिको आलोचना गरे । हुँदा हुँदा प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहालले पनि घुमाउरो ढंगले गभर्नरकै टाउकोमा दोष थोपरेर आफू चोखिने प्रयास गरेको अनौठो दृश्य देखियो । 

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाण्डौका र्याडिसन होटलमा ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रम गरेको थियो । सो कार्यक्रमको थिम थियो–‘सुधारका लागि सहकार्य’ । तर, त्यहाँ सहकार्यका कुरा कम र गभर्नविरुद्धको रोष बढी प्रकट भयो । ‘सबै क्षेत्र मिलेर अगाडि बढ्नुपर्छ’ भन्ने आशयसहित आयोजना गरिएको कार्यक्रमका प्रमुख वक्ताहरुले लाइन लागेरै राष्ट्रबैंक नेतृत्वविरुद्ध रोष प्रकट गरे । 

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रबैंकले लिने गरेको नीतिका कारण निजी क्षेत्रको उत्साह गुमेको टिप्पणी गरे । उनले जीडीपीको ९० प्रतिशत कर्जा गइसकेको र त्यस्तो कर्जाको समुचित उपयोग नभएको भन्दै राष्ट्रबैंकले कडाई गरिरहेको दाबी गर्दै दोष जति निजी क्षेत्रमाथि थोपर्ने प्रवृति बन्द हुनुपर्ने बताए । उनले सेयर बजार र रियल स्टेट लक्षित केन्द्रीय बैंकको नीति गलत रहेको भन्दै थपे–‘यस्तै टालटुले नीति लिने हो भने अर्थतन्त्र अझ असहज अवस्थामा पुग्नेछ ।’ 

उनले सरकारमाथि दोष थोपरेजस्तो गरेर राष्ट्रबैंक नेतृत्वमाथि नै प्रश्नहरुको प्रहार गरे–‘के सेयर, घरजग्गा र व्यापार सरकारलाई नचाहिने हो ? यी क्षेत्रको अर्थतन्त्रमा कुनै योगदान छैन ?’ 

उनले लगानीका अन्य क्षेत्रमा अवसर कम भएपछि लगानीकर्ता सेयरबजार र घरजग्गा व्यवसायमा आएका दाबी गर्दै यो क्षेत्रलाई राष्ट्रबैंकले पेल्नु गलत रहेको बताए । 

उनले विकास साझेदारको गलत भूमिकाका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको समेत भन्न छाडेनन् । पछिल्लो समय राष्ट्रबैंक नेतृत्वमाथि अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को निर्देशन खुरु खुरु मानेको र आइएमएफकै गलत भूमिकाका कारण नेपाली अर्थतन्त्र थप समस्यामा फसेको टिप्पणी हुन थालेको छ । गभर्नर अधिकारीले सरकारको भन्दा आइएमएफको कुरा बढी सुनेको भन्दै उनको चर्को आलोचना हुन थालेको छ । यही सन्दर्भलाई जोड्दै अध्यक्ष ढकालले समेत चर्को भाषण गरे । ‘कुनै साझेदारको सानो ऋणका कारण अर्थतन्त्र समस्यामा पर्छ भने त्यो ऋण फिर्ता गर्नुपर्छ ।’ उनले प्रधानमन्त्रीलाई साक्षी राखेर भने–‘कसैको सानो ऋणकै कारण हाम्रो अर्थतन्त्र बन्धक हुन्छ भने किन सहिरहने ? किन राखिरहने त्यस्तो ऋण ?’ 

सो कार्यक्रमको वक्ताको रुपमा प्रस्तुत भएका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले समेत राष्ट्रबैंक र नेतृत्वको खुलेरै आलोचना गरे । आर्थिक र मौद्रिक नीतिबीच तालमेल नभएको भन्दै उनले थपे–‘नियम एउटा भयो, नियति चाहिँ अर्कै ।’ 

राष्ट्रबैंकलाई टार्गेट गर्दै मल्लले अगाडि थपे–‘नियामकले लिएको नीतिकै कारण निजी क्षेत्र र अर्थतन्त्र थला पर्ने अवस्था बन्यो ।’ 

अहिले प्रणालीमा ५ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएको, सीडी रेसियो ८१ प्रतिशतको लाइनमा रहेको उल्लेख गर्दै राष्ट्रबैंकले ऋण परिचालन हुने वातावरणका लागि सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए । उनले सरकारले कतिपय राम्रा नीति ल्याए पनि नियामकले नमान्दा समस्या भएको भन्दै राष्ट्रबैंकमाथि नै प्रहार गरिरहे ।

मल्लले औसत कमाई भएका मध्यम वर्गले समेत लोन नै लिननसक्ने नीति राष्ट्रबैंकले बनाएको र यसले लोन प्रवाह हुन नसकेको भन्दै खुकुलो नीतिका सहजीकरण गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरे । 

नेपाल उद्योग परिसंघ, राष्ट्रिय व्यापारसंघ, घरेलु उद्योग महासंघ लगायतका निजी क्षेत्रका अन्य संघसंगठनका प्रतिनिधिले पनि गभर्नरविरुद्ध नै रोष प्रकट गरे । राष्ट्रबैंकले लिएको नीतिका कारण अर्थतन्त्र चौपट भएको र आफूहरु समेत समस्या परेको उनीहरुको दाबी थियो । 

अर्थविद अच्युत वाग्लेले समेत अर्थमन्त्री र गभर्नरबीच अझै तालमेल नमिलेको उल्लेख गर्दै खुकुलो मौद्रिक नीतिले मात्र अर्थतन्त्र चलायमान हुने बताउन भ्याए । उनले समेत घुमाउरो ढंगले गभर्नरविरुद्ध नै मोर्चा कसे । 

डा. वाग्लेले अर्थतन्त्रको जटिलता समाधानका लागि सरकारी निकायबीच तालमेल नभएको बताए । ‘मैले प्रधानमन्त्रीलाई नै सोध्दा अर्थमन्त्री र गभर्नर बीच तालमेल भएको छ भन्नु भएको थियो,’ डा.वाग्लेले भने, ‘होला मन त मिल्यो तर नीति मिलेन, जुन अहिले देखिन्छ ।’

सम्बोधनका क्रममा उद्योगमन्त्री रमेश रिजालले पनि राष्ट्रबैंकविरुद्ध नै रोष प्रकट गरे । केन्द्रीय बैंकले लिएको नीतिका कारण बैंक ब्याजदर नघटेको र चर्को दरकै कारण उद्योगी÷व्यवसायी हतोत्साही बनेका उनको भनाई थियो । उनले त घुमाउरो शैलीमा गभर्नरमाथि लाग्दै आएको ‘कुनै राजनीतिक पार्टी विशेषको गोटी’ बनेको आरोप दोहोर्याए । ‘कोही कसैले राजनीतिक पार्टीको गोटी बन्नुहुँदैन । कामु गभर्नर पनि यहीँ हुनुहुन्छ । भोलि देश नै नरहे दलको के काम ? दलको गोटी बनेर के काम ?’ उनले संकटग्रस्त अवस्थामा सरकार र मातहतका निकाय व्यापारीजस्तो बन्न नहुने सुझाव समेत दिए । 

त्यसपछि कार्यक्रमको प्रमुख अतिथि बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को बोल्ने पालो आयो । उनले पनि आफ्नो मन्तव्यको केही समय राष्ट्रबैंक र गभर्नरको कार्यशैलीको आलोचना गर्नमै बिताए । उनले टालटुले सुधारले अर्थतन्त्र र निजी क्षेत्रको समस्या समाधान नहुने भन्दै चन्द्र ढकालको भनाईप्रति समर्थन जनाए । 

विगतमा वित्तीय र मौद्रिक नीतिबीच तालमेल मिलाउन मेहेनत गरिएको, ब्याजदर घटाउने कोशिश गरिए पनि सफल हुन नसकिएको तिक्तता व्यक्त गरे । उनले भने–‘त्यसकारण अर्थतन्त्रको मूल समस्या अझै समाधान भएको छैन ।’ 

केही समूहले नेपाल पनि श्रीलंकाजस्तो हुनलागेको भाष्य निर्माण गर्न खोजे पनि अवस्था त्यस्तो नरहेको र जनतालाई अनावश्यक आतङ्कित बनाउने काम भएको उनको टिप्पणी थियो । 

उनले आफूहरुले मान्दै आएको ऐन कानून र परम्पराको आफैं बन्धक बनेको दाबी समेत गरे । ‘कहिले कुनै निकायको स्वायत्तताको कुरा गरेर बढी नै परम्परागत भयौं हामी ।’ राष्ट्रबैंकको स्वायत्तताप्रति कटाक्ष गर्दै प्रचण्डले घुमाउरो शैलीमा भने–‘अब बोल्ड निर्णय लिनुपर्नेछ । अर्थतन्त्रको मेजर अपरेशन नगरी सुख छैन ।’ 

उनले जसले जति कुरा गरे पनि राजनीतिले नै सबैलाई गाइड गर्ने गरेको उल्लेख गर्दै भने–‘सबैलाई राजनीतिले नै गाइड गर्दो रहेछ । अहिले हेर्नुस् न म आफैंले ब्याजदर घटाउनुस् भन्दा पनि तुरुन्त त्यो निर्देशन कार्यान्वयन हुने अवस्था छैन । म प्रधानमन्त्री नै भए पनि मैले भनेरै नीति परिवर्तन हुने अवस्था पनि बाँकी रहेन । तसर्थ सबै ठाउँमा राजनीतिका कारण अर्थतन्त्र थप समस्यामा परेको हो ।’ 

उनले सो क्रममा राष्ट्रबैंक लगायत सबै क्षेत्रको सहभागिता रहने गरी उच्चस्तरीय र अधिकारसम्पन्न संयन्त्र बनाएर अर्थतन्त्रको रिफर्म गर्नुपर्नेमा जोड दिएका थिए । 

चौतर्फी आलोचना व्यहोरेका राष्ट्रबैंकका गभर्नर अधिकारी हाल मोरिससमा छन् । कामू गभर्नरको रुपमा कार्यक्रममा सहभागी बमबहादुर मिश्रले भने आफूहरुले लिएको नीतिको बचाउ गरे । आफूहरुले लिएको नीतिकै कारण बाह्य क्षेत्रमा देखिएको संकट समाधान भएको र अहिले मुलुक सुविधाजनक अवस्थामा रहेको दाबी गरे । 

उनले सो क्रममा आफूहरुले लिएका विभिन्न नीतिका बाबजुद मुद्रास्फितिलाई नियन्त्रण गर्न हम्मे–हम्मे परेको भने स्वीकार गरे । 
नेपालको अर्थतन्त्र आन्तरिकभन्दा पनि बाह्य कारणले बढी प्रभावित भएको दाबी गर्दै उनले राष्ट्रबैंकको चाहना ब्याजदर घटोस् भन्ने रहेको बताए । वित्तीय स्थायीत्व, महङ्गी नियन्त्रण र बाह्य क्षेत्र सन्तुलनमा राष्ट्रबैंक फोकस भएको बताए । राष्ट्रबैंक आर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जस्तोसुकै सहकार्य गर्न तयार रहेको भन्दै उनले घुमाउरो ढङ्गले आफूहरुमाथि लागेको आरोपको खण्डन गरेका थिए ।