काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित कुल ७.३५७९ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६७९ प्रतिशत नगद लाभांश छन्। बोनस सेयर वितरणपछि बमोजिम कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान हिसाब, आव २०७९–८० का लागि लेखापरीक्षकको नियुक्तिलगायत प्रस्ताव पनि स्वीकृत गरेको छ। 

सभाले लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम रहने, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान–प्रदान अनुपात १००ः८० हुने गरी स्वाप रेसियो कायम गर्नेलगायत मर्जर प्रक्रिया स्वीकृत गरेको छ। 

दुवै कम्पनी मर्ज भएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्समा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जरलगायत कम्पनीका तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ।

सभा औपचारिक रुपमा सुरु हुनुभन्दा अगाडि कम्पनीका संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको गत माघ २२ गते निधन भएकोमा दुःख प्रकट गर्दै उनको आत्माको चीरशान्तिको कामना गरी एक मिनेट मौन धारण गरिएको थियो। 

सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले कम्पनीको व्यवसायलगायतका अन्य कामकारबाहीहरु, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी गाभ्ने–गाभिने सम्बन्धमा भएका सहमति, सम्झौताहरु, कम्पनी गाभिएपछिको अवस्थालगायतका विषयमा सेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराएका थिए। 

सभाको औपचारिक कार्यक्रम सम्पन्नपश्चात कम्पनीमा १० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई ताम्रपत्रसहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो।