काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको छ ।

संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले यही पुस २६ गते गैंडाकोटको द फेमिली जक्सन क्याफे एन्ड क्याटरिङ सेन्टरमा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा मुख्य अजेन्डाका रुपमा गत वर्षको मुनाफाबाट प्रस्तावित लाभांश अनुमोदन, सतप्रतिशत हकपद सेयर जारी र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जाने प्रस्तावमाथि छलफल हुनेछ ।

सभामा संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको हालको चुक्तापुँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने २ करोड ९२ लाख २१ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ९७ लाख ४० हजार ५०० रुपैयाँबराबरको नगद लाभांश अनुमोदन हुनेछ ।

यसैगरी बोनस सेयर वितरणपछि पुग्ने संस्थाको चुक्ता पुँजी २२ करोड ४० लाख ३१ हजार ५०० रुपैयाँको सतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभामा अन्य उपयुक्त वित्तीय संस्थासँग आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्रक्रियाको सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित हुनेछ ।

यसैबीच साधारणसभा र लाभांश प्रयोजनाका लागि संस्थाले पुस १३ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको मतलब साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुन पुस १२ गते शनिबार परेकोले पुस ११ गते आइतबारसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।