काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधनको आयात बढेको छ। 

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९–८० सबैभन्दा धेरै विद्युतीय सवारीसाधन भित्रिएका छन्। गत आर्थिक वर्षमा ४ हजार ५० वटा विद्युतीय भित्रिएका छन्। जुन हालसम्मकै उच्च हो। 

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८–७९मा नेपालमा जम्मा १ हजार ८०७ वटा विद्युतीय सवारी आयात भएका थिए। यो हिसाबले एक वर्षमै विद्युतीय सवारीसाधनको आयात करिब १२५ प्रतिशतले बढेको छ। 

नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाटभन्दा माथि क्षमताका सवारीसाधन आयात हुँदै आइरहेका छन् । गत आर्थिक वर्षमा ५० किलोवाट क्षमताका ३ हजार ७५९ वटा, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका २७२ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका १५ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ४ वटा सवारीसाधन भित्रिएका छन्। 

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको आयातमा नेपालबाट ११ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको ५ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको थियो।