काठमाण्डौ । विभिन्न बैंक तथा बिमा कम्पनी र प्रतिष्ठित उद्योगी व्यापारीहरुको संलग्नतामा ‘नेपाल इन्फ्रास्टक्चर बैंक’ दर्ताका लागि बुधबार राष्ट्रबैंकमा आवेदन परेको छ । 

नेपाल राष्ट्रबैंकले केही दिनअघि पूर्वाधार विकास बैंक स्थापनाको लाइसेन्स खुल्ला गर्दै निश्चित शर्तहरु तोकी सोअनुसार आवेदन दिन आह्वान गरेको थियो । 

प्रस्तावित नेपाल इन्फ्रास्टक्चर बैंक लिमीटेडका अध्यक्ष डा. बिमल कोइरालाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको उपस्थितिमा प्रस्तावित बैंकको आवश्यक कागजातहरु हस्तान्तरण गरी विधिवत रुपमा बैंक स्थापनाका लागि निवेदन दर्ता गरेका छन् । 

बैंकको चुक्तापुँजी २० अर्ब रहेको छ । बैंकमा नेपाल सरकारकोे १० प्रतिशतसहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समूूहमा ४० प्रतिशत शेयर रहेको बताइएको छ । हाल संस्थापक समूूहमा विभिन्न बैंक तथा बिमा कम्पनीलगायत प्रतिष्ठित उद्योगीव्यापारीहरुको संलग्नता छ । विदेशी बैंक तथा वित्तिय संस्थाहरुलाई समेत लगानी गर्न अनुकुल हुने गरी बैंक स्थापनाको निवेदन दर्ता गराइएको सो समूहको एक उद्योगीले बताए । 

प्रस्तावित बैंकको सञ्चालक समितिमा नेपाल सरकार समेतको प्रतिनिधि सहित ७ जना रहने व्यवस्था राखिएको छ । 

प्रस्तावित नेपाल इस्फ्रास्ट्रक्चर बैंकले देशको पूूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह, पूूर्वाधार विकास सम्बन्धी परियोजना संचालन, कम्पनीहरुको धितोपत्रमा लगानी, पूूर्वाधार विकास सम्बन्धी परियोजना संचालनका लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्रहरु जारी गर्ने, राष्ट्रबैंकको स्वीकृति लिई पूूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउन विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा बित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने मुख्य उद्देश्य राखेको छ ।