काठमाण्डौ । युद्धका कारण विश्वभर अर्थतन्त्रमा नै उथलपुथल भइरहँदा बिहीबार कच्चा तेलको भाउ फेरि बढेको छ ।

मध्यपूर्वमा तनाव कायमै रहेता पनि लाल सागर भएर हुने ढुवानी अवरोध सम्बन्धी चिन्ता केहि खुकुलो भएकाले तेलको भाउले टेवा पाएको हो ।

लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा बिहीबार बिहानी कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ ०.१ प्रतिशतले बढेर प्रतिब्यारेल ७९ डलर ७५ सेन्टमा पुगेको थियो । सोही अवधिमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा डब्ल्यूटीआईको भाउ पनि ५ सेन्ट तल झरेर प्रतिब्यारेल ७४ डलर शून्य ६ सेन्टमा किनबेच भइरहेको थियो ।

रुस- युक्रेन  तथा इजरायल-  हमासबीच जारी द्वन्द्वका कारण चार वटा ठूला अर्थतन्त्र भएका मुलुकले तेल कूटनीतिलाई उत्कर्षमा पु र्‍याएका छन् ।

विश्व अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका अमेरिका, चीन, रुस र भारतले जारी युद्ध कायमै रहँदा तेल कूटनीति पनि आश्चर्यजनक रुपले अगाडि बढाएका छन् ।

खासगरी पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको करिब दुई वर्षपछि रुसले यूरोपको सट्टा चीन र भारततर्फ इन्धन निर्यात गर्न पुनः निर्देशन दिएको  छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी सन् २०२२ मा युक्रेन आक्रमणका लागि सेना पठाएपछि पश्चिमा देशहरूले रुसको समुद्री तेल आपूर्तिमा यूरोपेली संघ(ईयू) सहितका मुलुकहरुले विभिन्न प्रतिबन्धहरू लगाएका थिए ।

एउटा टेलिभिजन अन्तरवार्तामा उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले पहिले यूरोपमा कुल ४० देखि ४५ प्रतिशत तेल र ग्यास उत्पादन आपूर्ति गरेका थियौं, यो वर्ष भने  कुल निर्यातको चारदेखि पाँच प्रतिशतभन्दा बढी नहुने बताएका छन् ।

रसियाले यूरोपमा आफ्नो बजार हिस्सा गुमाइरहेकै समयमा चीन तथा भारतलगायत अन्य क्रेताहरूलाई आकर्षित गरेको छ ।


रसियाबाट तेल निर्यातका लागि चीनको हिस्सा ४५/५० प्रतिशत पुगेको छ र भारत पनि यतिखेर मुख्य साझेदार बनेको छ । भारतले पहिले कत्ति पनि माल प्राप्त गरेको थिएन तर अहिले एक प्रमुख खरिददार बनेको छ । 

युद्ध सुरु भएयताको दुई वर्षको अवधिमा भारतले रसियाबाट तेलमात्रै कुल आपूर्तिको करिब ४० प्रतिशत आपूर्ति गरेको छ । हुन त दुई देशबीचको कारोबार केवल तेल, कोइला र ऊर्जासँग सम्बन्धित उत्पादनमा मात्र सीमित छैन ।

उता चीनले पनि रूसबाट कच्चा तेल आयात बढाएको छ । पश्चिमी राष्ट्रहरुले गरेको नाकाबन्दीबाट हुने नोक्सानीलाई कम गर्न चीनले रुसबाट तेल आयात बढाएको हो ।

आफूमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ । उसले यूरोप जाने तेललाई अन्य क्षेत्रमा बिस्तार गरिरहेको छ ।

चीनको तेल आयातको यो बृद्धिलाई हेर्दा अहिले रूसले साउदी अरबलाई चीनको प्रमुख तेल प्रदायक बन्नबाट उछिनेको छ ।यस्तै चीनले रुसबाट तेलको आयात ५० प्रतिशतसम्म बढाएको छ ।

रिपोर्ट अनुसार भारतले रूसबाट छूट पाएको कच्चा तेललाई परिष्कृत गरेर यूरोपेली ग्राहकलाई पनि बिक्री गरिरहेको छ । यद्यपि यी बिक्रीहरू अबैद्य छन् ।

यो रुसी तेलको लागि पर्दा पछाडिको मार्ग हो र यसले यूरोपमा प्रतिबन्धहरूको प्रभावलाई कमजोर पार्ने बजार विश्लेषकहरुले बताएका छन् । 

मस्कोले ईयू राष्ट्रहरूमा आफ्नो निर्यात कटौती गरेपछि प्राकृतिक ग्यास तथा तेल निर्यातको लागि नयाँ बजारहरू खोजि गरिरहेको छ । पश्चिमा राष्ट्रले प्रतिबन्ध लगाएता पनि सन् २०२३ मा रुसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको देखिएको छ । 

 रुसले यो वर्ष तेल र ग्यासबाट करिब ९ ट्रिलियन रुबल  अर्थात् ९८ अर्ब अमेरिकी डलर आम्दानी हुने अपेक्षा गरेको छ ।तेल र ग्यास उद्योगले रुसको कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हिस्सा ओगटेको छ जसले रुसको निर्यात राजस्वको ५७ प्रतिशत ओगटेको छ । 

यतिखेर रुसले चीन र भारत मात्र नभएर अन्य खरिदकर्ताका लागि खुला राखेको बताएको छ । यसैबीच, भारतीय विदेशमन्त्री जयशंकरले बुधबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका छन् ।

भेटवार्ताका क्रममा राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी वर्ष रुस आउने निमन्त्रणासमेत दिएका छन् ।
 

वार्ताको क्रममा विश्वभर उथलपुथल चलिरहँदा रुस र भारतको सम्बन्ध भने मजबुत भइरहेको राष्ट्रपति पुटिनले बताएका छन् ।

हुथी विद्रोहीले लगातार ढुवानी गर्ने मालबाहक जहाजमाथि ड्रोन आक्रमण गरेपछि ढुवानी अवरुद्ध हुने चिन्ताका बीच तेल आपूर्तिमा भविष्यमा पनि अनिश्चयका खाडलहरु देखिने चिन्ता ब्यक्त गरिएको छ । 

तेल, खनिज तथा ऊर्जा ढुवानी गर्ने डेनिश कम्पनी मेयस्क लगायतकाप्रमुख कम्पनीहरूले लाल सागरबाट हुने ढुवानी सुचारु गरेका छन् । लाल सागर भएर हुने ढुवानीमा केहि सहजता देखिएको भए पनि मध्य पूर्वमा तनाव जारी छ ।

यस क्षेत्रको द्वन्द्वमा इरानको संलग्नताले तेल आपूर्ति थप अप्ठ्यारो बनाएको बजार विश्लेषकहरुले बताएका छन् । -एजेन्सीहरु