काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ ।

उक्त अवधिसम्ममा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३.८ प्रतिशतले कमि आएको छ ।  चालू आवको उक्त अवधिमा ५० अर्ब ५७ करोड बराबरको आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले बृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ ।

उक्त अवधिसम्ममा कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आएर ५१२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ प्रतिशत र २७.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएसविलेट लगायतका वस्तुको आयात घटेको छ ।
उक्त अवधिसम्ममा कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई ४६१ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५३ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२ अर्ब ६९ करोड रुपैयाँ बराबरको भएको थियो ।