काठमाण्डौ ।  एनआइसी एशिया बैंकको चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा नाफा घटे पनि खूद ब्याज आम्दानी, निक्षेप र कर्जा परिचालनमा छलाङ मारेको छ । 

आक्रामक रुपमा शाखा बिस्तारमा लागेका कारण खर्च बढे पनि यो बैंकको प्रगतिमा भने सकारात्मक संकेतहरु देखिएका  छन् । 

बैंकको गत आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब १३ करोड नाफा भएको थियो । यो वर्ष सोही अवधिमा नाफा घटेर ९२ करोड ६७ लाखमा सीमित बन्न पुगेको हो । 

बैंकले व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानीमा उत्साहजनक बढोत्तरी भएको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ८४ करोड रहेको यस्तो आम्दानी बढेर २ अर्ब  ६५ करोडको उचाईमा पुगेको हो । 

बैंकले यो अवधिमा १ खर्ब ३३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ७९ अर्ब निक्षेप संकलन गरी ६८ अर्ब २१ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले खराब कर्जालाई समेत घटाउने कार्यमा सफलता प्राप्त गरेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ०.४६ प्रतिशत रहेको खराब कर्जा यो वर्ष घटेर ०.२२ प्रतिशतमा झरेको हो ।

अघिल्लो वर्ष २३.८७ रुपैयाँ रहेको वार्षिकीकृत  प्रतिसेयर आम्दानी घटेर १५.४० रुपैयाँ भएको छ भने पीई २०.९७ गुणा कायम भएकोछ । 

तेश्रो त्रैमाससम्म बैंकको चुक्तापूँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने रिजर्बकोषमा ३ अर्ब १ करोड रुपैयाँ रहेको छ ।