काठमाण्डौ । एनआईसी एशिया बैंकले सोमबारदेखि थप २ नयाँ शाखा संचालनमा ल्याएको छ।

बैंकले झापाको गौरादह नगरपालिका वडानम्बर ३ र सुनसरीको इटहरी उपमहानगरपालिका वडानम्बर २० स्थित तरहरा बजारमा छुट्टा छुट्टै समारोहको आयोजना गरी शाखा कार्यालयको औपचारिक उद्घाटन गर्दै बैकिंग सेवा संचालनमा ल्याएको हो । 

आइतबार मात्रै यो बैंकले देशका विभिन्न क्षेत्रमा तीन नयाँ शाखा संचालनमा ल्याएको थियो ।

गौरदहको शाखा नगरपालिकाका मेयर रोहितकुमार शाहले तथा तरहराको शाखा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले उद्घाटन गरेका थिए ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । उल्लेखित २ शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालन गरिने बताएको छ ।