काठमाण्डौ । दुई वर्षभन्दा बढी समयपछि पहिलोपटक जुलाईमा चीनको उपभोक्ता मूल्यमा गिरावट आएको छ। जसका कारण चीनको अर्थतन्त्रलाई डिफ्लेसनको झट्का लागेको छ। 

मुद्रास्फीति मापन गर्ने आधिकारिक उपभोक्ता मूल्य सूचकांक गत जुलाईमा चीनमा १ वर्षअघिको तुलनामा ०.३० प्रतिशतले घटेको छ। यसले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा माग पुनर्जीवित गर्न सरकारमाथि दबाब बढेको विश्लेषकहरु बताउँछन्। 

बीबीसीले आफ्नो रिपोर्टमा यो कमजोर निर्यात र आयात डाटाको परिणाम रहेको जनाएको छ। जसका कारण कोरोना महामारीपछि चीनको रिकभरी प्रभावित भएको छ।

चीनले अहिले बढ्दो स्थानीय सरकारको ऋण र आवास बजारको चुनौतीहरुको सामना गरिरहेको छ। युवामा बेरोजगारीको समस्या चरम सीमामा छ। घटेको मूल्यले चीनलाई आफ्नो ऋण घटाउन गाह्रो बनाइरहेको छ। यसले सुस्त वृद्धिजस्ता चुनौती सिर्जना गरेको छ।

अधिकांश विकसित देशहरुमा कोरोना महामारीको अन्त्य भएपछि उपभोक्ता खर्चमा उछाल आएको थियो। कोरोना महामारीसँग सम्बन्धित प्रतिबन्ध हटेपछि जनतामा बचत गरेको पैसा खर्च गर्ने रहर बढेको छ। तर, चीनमा त्यस्तो भएन। चीनमा कडा कोरोना नियमबाट बाहिर आएपछि मूल्यहरु बढेका छैनन्। उपभोक्ता मूल्य पछिल्लोपटक फेब्रुअरी २०२१ मा घटेको थियो। –एजेन्सी