काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६३ करोड ४१ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको यस्तो नाफा ५० करोड २ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा(प्री प्रफिट) ५८ करोड ४५ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा ४७ करोड १२ लाखमा सीमित थियो । 

बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी गत वर्षको भन्दा ९.१६ करोडले बढेर ८४ करोड २३ लाखको उचाईमा पुगेको छ । बैंकले एक अर्ब ५० करोड २७ लाख ब्याज आम्दानी गर्दा ६६ करोड तीन लाख ब्याज खर्च गरेको छ । 

चालू आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले ६५ अर्ब ४७ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४८ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले ७१ अर्ब ४२ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४० अर्ब ८३ करोड ५२ लाख बराबरको कर्जा लगानी गरेको थियो । यसरी समीक्षा अवधिमा यो बैंकको निक्षेप संकलन रकम पाँच अर्ब ९५ करोड रुपैयाँले घटेको छ भने कर्जा लगानी सात अर्ब ५२ करोडले बढेको छ । 

गत वर्ष शतप्रतिशत बोनस वितरण गरेका कारण बैंकको जगेडा कोष १ अर्ब ६८ करोडले घटी ६ अर्ब ७८ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ ।  समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.१८ प्रतिशतबाट बढी ०.२१ प्रतिशत पुगेको छ । 

शतप्रतिशत बोनस बाँडी गत वर्ष ८ अर्ब चुक्तापूँजी पुर्याएको यो बैंकले पूँजीको वृद्धि अनुसार नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानीतर्फ भने पहिरो व्यहोर्नु परेको छ ।  गत वर्षको प्रथम त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ९५ पैसा रहेकोमा चालू आवको यसै अवधिमा ३१ रुपैयाँ ६६ पैसामा खुम्चिएको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात २२.३३ गुणा रहेको छ ।