काठमाण्डौ । समता माइक्रोफाइनान्स बित्तीय संस्थाले खूद नाफातर्फ ४५ प्रतिशतको हाराहारीमा वृद्धिसँगै प्रतिसेयर आम्दानीमा पनि करिब २१ प्रतिशतको वृद्धि हासिल गरेको छ । 

यो कम्पनीले चालु आर्थिक  वर्षको पहिलो त्रैमासमा २० लाख ८४ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा १४ लाख ४० हजारमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीको नाफा बढेका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि १८.२३ रुपैयाँबाट बढेर २१.९८ रुपैयाँको उचाई चुमेको छ ।

यो अवधिमा कम्पनीले करिब ४० प्रतिशतले खूद ब्याज आम्दानी बढाएको छ । अघिल्लो वर्ष ८३ लाख ८० हजार रहेको यस्तो आम्दानी बढेर यो वर्ष १ करोड १७ लाखको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीले ३० करोड ७२ लाख निक्षेप संकलन गरी तथा ४७ करोड ६० लाख बढी सापटी लिई ८२ करोड ७४ लाख बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १५ करोड ८७ लाख निक्षेप संकलन गरी तथा २५ करोड बढी सापटी लिएर ४२ करोड ६५ लाख बढी कर्जा परिचालन गरेको थियो । 

कम्पनीको रिजर्ब कोष भने गत सालनको तुलनामा खिइएको छ । अघिल्लो वर्ष ३ करोड १९ लाख रहेको कोष खिइएर २ करोड ३८ लाखमा सीमित बन्न पुगेको हो ।

कम्पनीमा खराब कर्जाको अनुपात निकै धेरै रहेको छ । अघिल्लो वर्ष ७.३१ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा अझ बढेर यो वर्ष ७.८२ प्रतिशत पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १६३.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६७.६९ गुणा कायम भएको छ ।