काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा तनहुँको आँबुखैरेनी–३ स्थित आँबुखैरेनी रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको २५.२८५ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। सजिलो लघुवित्त र समीट लघुवित्तबीच मर्जर कार्य सम्पन्न भई २०७७ असोज ६ गतेबाट एकीकृत कारोबार सुरु भइसकेको हुँदा घोषित लाभांशमा लाग्ने लाभांश करको व्यवस्था नगरिएको संस्थाले जनाएको छ।

बोनस सेयर जारीपछि संस्थाको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमासंशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सजिलो लघुवित्त र समीट लघुवित्त आपसमा मर्जरपश्चात संस्थापक सेयर र सर्वसाधराण सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणतर्फको ७ लाख ५१ हजार ७१२ कित्ता सेयर प्रिमियममा थप सार्वजनिक निष्कासन (एफपीओ) का माध्यमबाट सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सोही सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था आपसमा गाभ्न, गाभिन वा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभामा गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षक प्रतिवेदनजस्ता महत्वपूर्ण दस्तावहरु छलफल गरी पारित हुनेछन्।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही पुस १५ गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्त लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।