काठमाण्डौ । सरकारको लगानी रहेको तीनवटा वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुने ब्याजदर घटाउने तयारी गरेका छन् । 

सरकारी लगानीका बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले असोज १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने तयारी गरेका हुन् । 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आफूहरु ब्याजदर घटाएरै अगाडि बढ्ने प्रष्ट पारे । उनकाअनुसार आज(शुक्रबार) साँझसम्म ब्याजदर कति घटाउने भन्ने विषयमा ठोस निर्णय हुनेछ । ‘हामी योपटक ब्याजदर घटाएरै अगाडि बढ्छौं ।’ उनले भने–‘सोहीअनुसारको तयारी भइरहेको छ । देशको आवश्यकता पनि ब्याजदर घटाउनैपर्ने देखिएको छ ।’ 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले समेत ब्याजदर घट्ने प्रष्ट पारेका छन् । उनले समेत साँझ बैंकका उच्च अधिकारीहरुको बैठक बसी ब्याजदर घटाउने निर्णय गर्ने जानकारी दिए । 

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफूहरुले पनि ब्याजदर घटाउने र सोहीअनुसार साँझसम्ममा निर्णय हुने बताए । ‘ब्याजदर कति घटाउने भन्ने कुरा चाहिँ साँझ ५ बजेसम्म छिनोफानो भइसक्ला ।’ उनले बिजशालासँग भने–‘तर ब्याजदर घट्ने कुरा चाहि निश्चित हो ।’ 
भदौका लागि ब्याजदर बढाएर प्रकाशित गरेपछि यी तीनवटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सिंहदरबार बोलाएर अर्थमन्त्रीले ‘थर्काएका’ थिए । अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउने आफ्नो अभियानमा सरकारी लगानीकै बैंकले असहयोग गरेपछि असन्तुष्टि जनाएका थिए ।

सोबेला तीनवटै बैंकका सीइओले आफूहरुसँग भएको निक्षेप जोगाउनैका लागि यस्तो निर्णय गर्नुपरेको बताएका थिए । 

स्थानीय निकायमा जाने ठूलो रकमलाई निक्षेपको रुपमा गणना गर्न नपाउने व्यवस्थाले समेत सीडी रेसियो मेन्टेनकै लागि ब्याजदर बढाएर जानुपर्ने र निक्षेप जोगाउनुपर्ने आवश्यकता सरकारी बैंकका सीइओले औंल्याएका थिए । सोही अप्ठ्यारो व्यवस्थामा अर्थमन्त्री डा. महतले सहजीकरण गरी स्थानीय निकायमा जाने कुल फण्डमध्ये ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गणना गर्न दिने निर्णय भइसकेको छ । निर्णयअनुसार ६१ अर्ब हाराहारीमा निक्षेप बैंकहरुले पाइसकेका छन् । यो व्यवस्थाले समेत निक्षेप खोसाखोसको दौड लगभग अन्त भएको र ब्याजदर घटाएर अगाडि बढ्न प्रेरित गरेको सरकारी बैंकका सीइओहरुले बताएका छन् ।