काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सहकारी संस्थाहरुलाई विवरण बुझाउन निर्देशन दिएको छ। 

काठमाण्डौभित्र सञ्चालित संस्थाहरुलाई वार्षिक साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएबमोजिमका विवरणहरु पेस गर्न महानगरपालिकाको सहकारी विभागले आज एक सूचना गर्दै निर्देशन दिएको हो। 

महानगरले यो सूचना प्रकाशित भएको ३० दिनभित्र सहकारी संस्थाहरुलाई विवरण पेस गर्न समयसीमा दिएको छ। यो अवधिभित्र विवरण पेस नगर्ने सरकारी संस्थाहरुलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि महानगरले चेतावनी दिएको छ।

काठमाण्डौ महागरपालिका सहकारी ऐन, २०७४ बमोजिम आर्थिक वर्षको समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानुनबमोजिम इजाजत प्राप्त लेखापरीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण गराउनुपर्ने र सोही ऐनमा भएको व्यवस्थाबमोजिम विवरणहरु महानगरपालिकामा बुझाउनुपर्ने हुन्छ।