काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आकर्षक लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि दुवै लघुवित्तले भोलि सोमबार (पुस १४) गतेदेखि बुक क्लोज गर्दैछन् । यसको मतलब आजसम्म कायम सेयरधनीहरुमात्र दुवै लघुवित्तको साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुने्छन् ।

साना किसानले यही पुस २६ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ ।

सभामा संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ७८ करोड ६० लाख ३४ हजार ९१२.११ रुपैयाँको कुल २८.६८ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ ।

प्रस्तावित लाभांशमा २७.२५ प्रतिशतले हुन आउने २१ करोड ४१ लाख ९४ हजार ५१३.५५ रुपैयाँबराबरको बोनस सेयर र १.४३ प्रतिशतले हुन आउने १ करोड १२ लाख ७३ हजार ३९५.४५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेको छ ।

त्यस्तै महुली लघुवित्तले आफ्नो सातौँ वार्षिक साधारणसभा पुस २६ गते सप्तरीस्थित आफ्नै केन्द्रीय कार्यालयमा गर्दैछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३१.५७ प्रतिशत लाभांश पारित हुनेछ । संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १० करोड २० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ४ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.५७ प्रतिशतले हुन आउने १ करोड १८ लाख १० हजार ५८० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाले अन्य उपयुक्त ‘घ’ वर्गका इजाजत प्राप्त एक वा एकभन्दा बढी लघुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ति गर्न उपयुक्त प्रस्ताव देखिएमा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्यलगायत आवश्यक कार्यहरु गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियार दिने प्रस्ताव पनि पारित गर्ने छ ।