काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ६९ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३० करोड मात्र नाफा आर्जन गरेको थियो । 

अघिल्लो वर्ष १ अर्ब ९९ करोडमा सीमित संचालन मुनाफालाई बढाएर बैंकले २ अर्ब ६० करोडको उचाईमा पुर्याएको छ भने २ अर्ब २४ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर २ अर्ब ९३ करोडको उचाईमा पुगेको छ । 

सानिमाको ब्याज आम्दानी ८ अर्ब माथि भए पनि ब्याज खर्च समेत ५ अर्ब कटेपछि अपेक्षित नाफा आर्जन हुन नसकेको देखिएको छ । 

बैंकले समीक्षा अवधिमा ७९ अर्ब १८ करोड निक्षेप संकलन गरी ६८ अर्ब ६६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५८ अर्ब २२ करोड निक्षेप संकलन गरी ५१ अर्ब २६ करोड कर्जा परिचालन गरेको थियो । 

सानिमाले रिजर्बकोषलाई भने निकै मजबुत बनाएको छ । यहीकारण १ अर्ब ५ करोडमा सीमित रिजर्ब बढेर २ अर्ब ७४ करोडको उचाईमा पुगेको छ। 

बैंकमा खराब कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्षसम्म ०.०१ प्रतिशत रहेको खराब कर्जा बढेर ०.०३ प्रतिशत पुगेको हो । 

कस्ट अफ फण्ड ७.४२ प्रतिशत रह्यो भने सीडी रेसियो ७६.९९ प्रतिशत, बेस रेट १०.६६ प्रतिशत कायम रह्यो । 

६ अर्ब ९९ करोडमा सीमित चुक्तापूँजी बढेर ९ अर्ब १८ करोड पुगे पनि सोअनुसार नाफा हुन नसक्दा प्रतिसेयर आम्दानीमा भने पहिरो गएको छ ।

अघिल्लो वर्ष २६.३१ रुपैयाँ रहेको इपीएस घटेर यो वर्ष २१.१७ रुपैयाँ कायम भएको छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३४.३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.३१ गुणा, इक्वीटीमा प्रतिफल १५.७६ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.८४ प्रतिशत कायम भएको छ ।