काठमाण्डौ । सानिमा बैंकले आफ्ना लगानीकर्तालाई एक साथ बोनस सेयर र हकप्रद वितरणको घोषणा गरेको छ । 

बैंकको असोज ४ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत सेयर लाभांश र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

बोनस सेयरपछि सेयरधनीलाई ३० प्रतिशत हकप्रद पनि निश्कासन गर्ने बोर्ड बैठकले निर्णय गरेको नेप्सेमा बुधबार प्रकाशित सूचनामा उल्लेख छ । 

घोषित बोनस र हकप्रद सेयर नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत हुनुपर्छ । 

सानिमा बैंकले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ४ करोड ५५ लाख खूद नाफा आर्जन गरेको थियो । यसअघि यो बैंक ५० प्रतिशत हकप्रद वितरण गरेको थियो । सो  हकप्रदको निश्कासनपछि चुक्तापूँजी ४ अर्ब ५९ करोड पुगेको छ । १५ प्रतिशत बोनस सेयर समेत वितरणपछि सानिमा बैंकको चुक्तापूँजी ५ अर्ब २८ करोड पुग्नेछ । त्यसपछि पुनः ३० प्रतिशत हकप्रदपछि बैंकको चुक्तापूँजी ७ अर्बको हाराहारीमा पुग्ने बताइएको छ । 

नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तभित्र वाणिज्य बैंकहरुको चुक्तापूँजी ८ अर्ब पुर्याउनुपर्ने नीति ल्याएपछि त्यसैको चटारोमा वाणिज्य बैंकहरुको दौडधूप जारी छ ।