– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये सानिमा बैंक सेयर बजारमा लगानीकर्ताको रोजाइमा परेको एउटा बैंक हो। सानिमा बैंक सन् २०१२ मा स्थापित भएको हो। हालसम्म यो बैंकका राजधानीभित्र र बाहिर गरेर १०४ शाखा, १२३ एटीएम र २८ वटा एक्सटेन्सन काउन्टर छन्। 

सानिमा बैंकका १० लाखभन्दा बढी ग्राहक छन्। बैंकमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ। 

आधारभूत पक्ष

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको चुक्तापुँजी १२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको खुद नाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। बैंकको रिटेन अर्निङ २ अर्ब ३० करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २१ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२.३९ गुणा, नेटवर्थ १५५.५१ रुपैयाँ र प्रतिसेयर कुल सम्पति १ हजार ७३० रुपैयाँ रहेको छ। 

चौथो त्रैमामसम्म बैंकको वितरणयोग्य मुनाफा प्रतिसेयर १७.१३ रुपैयाँ र खराब कर्जा १.३ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।  

यो बैंकको सेयरभाउलाई इलिअट वेभबाट हेर्दा हाल सानो टाइम फेरेमको वेभ ५ चल्दै गरेको देखिन्छ। बैंकको न्यून मूल्य २४० रुपैयाँदेखि २७० रुपैयाँसम्म वेभ १, सामान्य करेक्सन भएर वेभ २ मा २५० रुपैयाँसम्म, वेभ ३ मा बढोत्तरीका साथ २७० रुपैयाँसम्म र वेभ ४ मा करेक्सन भएर पुनः २८० रुपैयाँसम्म झरेको छ। अब यो बैंकको सेयरभाउमा वेभ ५ को बढोत्तरी हुन सक्ने देखिन्छ। त्यो भनेको ३४० रुपैयाँसम्म यो बैंकको सेयरभाउ जान सक्ने देखिन्छ। (माथि  मुख्य तस्बिरमा हेर्नुहोस्) 

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका अधारमा सानिमा बैंकको सेयरभाउ हाल साप्ताहिक बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ। फियर एन्ड ग्रिड मिटर यदि ६० देखि ८० को बीचमा रहेमा बुलिस सेन्टिमेन्ट र ८० देखि माथि भएमा स्ट्रङ बुलिस सेन्टिमेन्ट भन्ने हो। हाल यो बैंकको सेयरभाउको मिटर ७० को तहमा देखिन्छ। त्यसैले यो बैंकको सेयरभाउमा साप्ताहिक बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ। 

सानिमा बैंकको सेयरभाउको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ३०१ रुपैयाँ र न्यून मूल्य २२३ रुपैयाँ रहेको छ। बैंकको सेयरभाउ सोमबार प्रतिकित्ता २९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

डेली बेसमा सानिमा बैंकको सेयरभाउलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा केही समयपहिले अप्पर ब्यान्डमा छोएर तल झरेको छ। यसले अब मध्य ब्यान्डमा सपोर्ट लिन सक्छ। 

म्याक्डीमार्फत हेर्दा बियरिस क्रसओभर हुन खोजेको देखिन्छ। तर, भइसकेको अवस्था भने होइन। हिस्टोग्राम सकारात्मक नै छन्। 

आरएसआई ओभरबट जोन ६९ को तहमा रहेको छ। मनी फ्लो इन्डेक्स हाल ६५ को तहमा छ। यसले बैंकको सेयरमा खरिद दबाब नै रहेको देखिन्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –३२०
  • प्रतिरोध २ –३०९
  • प्रतिरोध १– ३००

पिभट प्वइन्टः २९०

घटेमा सपोर्ट 

  • सपोर्ट १– २८०
  • सपोर्ट २– २६९
  • प्रतिरोध ३ –२६०

निष्कर्ष

वाणिज्य बैंकहरुमा सानिमा बैंक आधारभूत रुपमा ठीकै रहेको देखिन्छ। यो बैंकको रिटर्न अन इक्विटी १३ प्रतिशत, प्रतिसेयर आम्दानी २१ रुपैयाँ र वितरणयोग्य मुनाफा प्रतिसेयर १७ रुपैयाँ रहेको सानिमा बैंक अल्पकालीन र दीर्घकालीन दुवै लगानीकर्ताका लागि उपयुक्त देखिन्छ। 

प्राविधिक रुपमा हेर्दा सानिमा बैंकको सेयरमा अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ। तर, दीर्घकालीन लगानीकर्ताका लागि भने मूल्य आम्दानी अनुपातको हिसाबले उपयुक्त नै रहन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।