काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको काठमाण्डौ महानगरपालिका वडानम्बर २६ सामाखुशीस्थित शाखाको शुक्रबार उद्घाटन गरिएको छ । 

एक समारोहका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सो शाखाको विधिवत  उद्घाटन गरेका हुन् ।

सो अवसरमा श्रेष्ठले एनसीसी बैंकले संस्थागत सुशासन कायम गर्दै जाने र आफ्नो व्यवसायिक गतिविधि अगाडि बढाउँदै आगामी दिनहरुमा पनि बैंकले यस्तै प्रगति गर्दै जाने विश्वास ब्यक्त गरे  ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले आगामी दिनहरुमा बैंकले नेपाल राष्ट्रबैंकको निर्देशनमा रहेर अघि बढदै जाने विश्वास व्यक्त गरेका थिए ।

बैंकको संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले एकआपसमा मर्ज भएका पाँच वटै संस्थाका तर्फबाट एनसीसीले अझ बढी सरल र सुलभ सेवा दिदै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले शाखा स्थापनाबाट सामाखुशी क्षेत्र र त्यहाँका बासिन्दाको आर्थिक सम्बृद्धिमा टेवा दिने विश्वास व्यक्त गरेका थिए ।

एनसीसी बैंकले नेपाल राष्ट्रबैंकले तोकेको न्यूनतम चुक्तापूँजी पुर्याउन गत वर्ष ४ वटा राष्ट्रिय स्तरको विकास बैंकहरुसंग गाभ्ने /गाभिने प्रक्रिया पश्चात एउटै स्थानमा रहेका शाखाहरुलाई अर्को स्थानमा सार्ने तथा बैंकिङ्ग पहुँच नपुगेका नगरपालिका तथा गाउँपालिकामा क वर्गको वाणिज्य बैंकको कम्तीमा एउटा शाखा स्थापना गर्ने नेपाल सरकारको नीति अनुरुप यस बैंकले पनि निकट भविष्यमा काठमाण्डौं उपत्यका बाहिरका विभिन्न स्थानहरुमा ४३ वटा शाखा स्थापना गर्ने समेत विज्ञप्तिमार्फत जनाएको छ । उक्त ४३ वटा शाखा स्थापना र एउटै स्थानमा रहेका शाखाहरुको स्थानान्तरण पश्चात एनसीसी बैंकको ११२ वटा शाखाहरु पुग्ने प्रवक्ता बन्दना पाठकले जनाएकी छिन् ।