काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको साधारणसभाले ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

मंसिर २० गते शनिवार केन्द्रीय कार्यालय भवन, नारायणहिटी पथमा जूममार्फत सम्पन्न १४ औं साधारणसभाले यसअघि संचालक समितिले गरेको प्रस्ताव अनुसार ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल ११ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । यसअनुसार अब बैंकले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट ८ प्रतिशतका दरले हुन आउने रु. ७२,७१,८५,३८३.१८ बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने रु.२७,२६,९४,५१८.६९ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्नेछ । 

बैंकका संचालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न सभाले आ.व. २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफलपछि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७६/७७ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । 

त्यसैगरी, सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझावअनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्ने विश्वास सभालाई दिलाएका थिए । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्णले पुर्याएको सहयोगका लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा समेत प्रकट गरेका थिए । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ सम्ममा रु. ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ भने रु. ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोही अवधि भित्र रु १ अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरी अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको समेत जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।