काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना लगानीकर्तालाई डबल अफर दिने भएको छ । 

सो बैंकको संचालक समितिले प्रस्ताव गरेको १५.८० प्रतिशत बोनस सेयर र बोनस सेयरपछि २५ प्रतिशत हकप्रदको बिषयलाई नेपाल राष्ट्रबैंकले स्वीकृति प्रदान गरेको हो । यो स्वीकृतिसँगै अब बैंकको आगामी वार्षिक  साधारणसभाबाट समेत यी दुई प्रस्ताव पारित भए सिटिजन्स बैंकका लगानीकर्ताले डबल अफर प्राप्त गर्नेछन् । 

सो बैंकले सोमबार नेपाल स्टक एक्सचेञ्जलाई नेपाल राष्ट्रबैंकबाट प्राप्त स्वीकृतिको बिषयमा जानकारी गराएको हो । 

बैंकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७२/७३ को नाफाबाट १५.८० प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बोनस सेयरको व्यवस्थापनपछिको चुक्तापूँजीको २५ प्रतिशत हकप्रद जारी हुनेछ । 

यसअघि २०७३ असार ५ देखि साउन ९ गतेसम्म यो बैंकले आफ्ना सेयरधनीलाई ५५ प्रतिशत हकप्रद वितरण गरेको थियो । ५५ प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्तापूँजी ४ अर्ब ७५ करोड पुगेको छ । अहिले नेपाल राष्ट्रबैंकबाट स्वीकृत बोनस सेयर जारी पछि बैंकको चुक्तापूँजी ५ अर्ब ५० करोड भन्दा माथि पुग्नेछ । त्यसपछिको अवस्थामा जारी हुने २५ प्रतिशत हकप्रदको व्यवस्थापनपछि बैंकको चुक्तापूँजी करिब ७ अर्ब पुग्नेछ । 

बैंकले आगामी असोज १६ गते बानेश्वरको थापागाउँस्थित थापागाउँ ब्याकेटमा १० औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

साधारणसभाले यसअघिको ५५ प्रतिशत हकप्रद र २० प्रतिशत बोनस सेयरको निर्णयलाई मान्यता दिनेछ भने प्रिमियर फाइनान्ससँगको एक्वाएर प्रक्रियाको बिषयमा समेत स्वीकृति प्रदान गर्ने बताइएको छ । 

बैंकले प्रकाशित गरेको सूचना अनुसार असोज ५ गतेभित्र बैंकको सेयर आफ्नो नाममा नामसारी गरेका वा खरीद गरेकाहरुले मात्र बोनस सेयर भर्न पाउनेछन् । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा १ अर्ब ९ करोड रुपैयाँ खूद नाफा कमाएको थियो ।