काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षमा आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत भन्दा माथिको लाभांश सहजै दिनसक्ने देखिएको छ । 

बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । यसको आधारमा सेयरधनीले यो वर्ष १० प्रतिशत भन्दा माथिको लाभांश पाउनसक्ने देखिएको हो । 

बैंकले तेश्रो त्रैमाससम्म ६६ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ । वितरणयोग्य मुनाफा भनेको सेयरधनीलाई लाभांशको रुपमा वितरण गर्न सकिने नाफा भन्ने हो । हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा करिब ६ प्रतिशतले बढाएर १ अर्ब ६ करोडको उचाई चुमाएको यो बैंकले एनएफआरएस प्रतिवेदन अनुसार नियामकीय व्यवस्था अनुरुप विभिन्न शीर्षकमा कमाएको रकम छुट्याउनुपर्ने भएकोले वितरणयोग्य नाफा चाहि ६६ करोड ९६ लाख मात्र कमाउन सकेको हो । यसको अर्थ खूद नाफा भन्दा वितरणयोग्य मुनाफा ४० करोड ९० लाखले कम हो । 

बैंकले आर्जन गरेको खूद नाफामध्ये साधारण जगेडामा २१ करोड ३९ लाख, रेगुलेटरी जगेडामा ११ करोड ३० लाख, पुँजीगत जगेडामा ७ करोड १४ लाख, संस्थागत सामाजिक उत्तरदायीत्व(सिएसआर)मा १ करोड ७ लाख छुट्याएपछि ६६ करोड ९६ लाख वितरणयोग्य मुनाफा बाँकी रहेको हो ।

अन्तिम त्रैमासमा बैंकले यही अवस्थालाई मेन्टेन गर्न सक्यो भने पनि लगानीकर्ताले आरामले ११ प्रतिशतको हाराहारीमा लाभांश पाउने देखिन्छ । तर, बैंकमा नयाँ नेतृत्व आएको र उत्साहपूर्वक व्यवसाय विस्तारमा लागेको देखिएकोले यो वर्ष बैंकले १२ देखि १५ प्रतिशतसम्म लाभांश दिनसक्ने अवस्था आउने अनुमान गर्न सकिन्छ ।

बैंकमा नयाँ नेतृत्व आएपछि ब्याज खर्चलाई सन्तुलित बनाई व्यवसाय बिस्तारमा आक्रामक बन्दै गएको देखिएको छ । यसको प्रतिविम्ब खूद ब्याज आम्दानीतर्फको ४२.१३ प्रतिशतको छलाङलाई लिन सकिन्छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ४६ करोड खूद ब्याज आम्दानी गरेको यो बैंकले समीक्षा अवधिमा बढाएर २ अर्ब ८ करोडको उचाई चुमाएको हो । 

बैंकले आफ्नो जगेडाकोषलाई थप मजबुत पारेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ९८ करोडमा सीमित रिजर्बको आकार २३.११ प्रतिशतले बढी यो वर्ष ३ अर्ब ६६ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा सिटिजन्स बैंकले ६५ अर्ब ९२ करोड निक्षेप संकलन गरी ६१ अर्ब २ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा ८.६१ प्रतिशतले निक्षेप बढाएको बैंकले कर्जा बिस्तारलाई भने ९.७५ प्रतिशतले बढाएको छ । निक्षेप भन्दा कर्जातर्फको बढी वृद्धिदर राम्रो होइन ।

बैंकले अघिल्लो वर्ष १ अर्ब ४३ करोडमा सीमित संचालन मुनाफा बढाएर यो वर्ष १ अर्ब ४९ करोडको उचाई चुमाएको छ भने १.४३ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात भने बढेर १.४६ प्रतिशत पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिभन्दा बैंकको सीसीडी अनुपात केही टाइट देखिएको छ । यो वर्षको चैत मसान्तमा बैंकमा ७८.४८ प्रतिशतको निकै टाइट सीसीडी रेसियोमा बैंक रहेको देखिएको छ । 

अघिल्लो वर्ष  ११.१५ प्रतिशत रहेको बैंकको आधार दर घटेर यो वर्ष १०.५८ प्रतिशतमा सीमित भएको छ भने प्रतिसेयर आम्दानी सामान्य बढेर १७.०४ रुपैयाँ कायम भएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४३.८४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.०९ गुणा कायम भएको छ ।