काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसाभाबाट वित्तीय विवरणसहित विभिन्न प्रस्ताव पारित गरेको छ। 

आज थापाथलीस्थित एलएस कम्प्लेक्समा रहेको कम्पनीको प्रधान कार्यालयमा भएको सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ। 

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८–७९ को वासलात, हिसाब, नाफा नोक्सान आय व्यय इक्युटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९–८० का लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र बर्तमान लेखापरीक्षक जोशी एन्ड भण्डारी चार्टर्ड अकाउन्टेन्टस पुनः नियुक्तिका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदानबापत ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ।