काठमाण्डौ । पाँच वर्षपछि पहिलोपटक गत वर्ष ११ प्रतिशत बोनस बाडेको सिद्धार्थ डेभलपमेन्ट बैंकले यो वर्ष पनि २४ प्रतिशत बोनस वितरणको घोषणा गरेको छ । 

असोज ९ गते बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई २४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

नियामक नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट यो प्रस्ताव पास भएपछि घोषित बोनस लगानीकर्ताले प्राप्त गर्नेछन् । 

बित्तीय अनुशासन कायम नगर्दा यो बैंकले विगतमा लामो समयदेखि समस्याग्रस्त भई लगानीकर्तालाई निराश पार्दै आएकोमा अजयकुमार मिश्र सीइओ भएर आएपछि गत वर्ष ५ वर्षपछि पहिलोपटक ११ प्रतिशत बोनस वितरण गरिएको थियो । 

बैंकको हालको चुक्तापूँजी १ अर्ब १४ करोड छ । बोनस सेयर वितरणपछि चुक्तापूँजी १ अर्ब ४१ करोड पुग्नेछ । आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा सिद्धार्थ डेभलपमेन्ट बैंकले ३३ करोड १३ लाख खूद नाफा आर्जन गरेको थियो । 

स्रोतका अनुसार बोनस वितरणपछिको चुक्तापूँजीको ५५ देखि ६० प्रतिशत हकप्रद समेत बैंकले जारी गर्नेछ । ठूलो परिमाणमा हकप्रद दिएर राष्टबैंकले तोकेको ०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउने यो बैंकको रणनीति छ । बैंकले मर्जर र एक्वीजिसनको ढोका पनि खुल्लै राखेको छ । 

यो बैंकले केहीअघि नेपाल आवास फाइनान्स र एकता विकास बैंकसँग मर्जर गरी आफूलाई मजबुत डेभलपमेन्ट बैंकको पंक्तिमा उभ्याएको हो ।