काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ लोभलाग्दो प्रगति गरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा १४ करोड ९५ लाख रुपैयाँ रहेको खूद नाफालाई बढाएर यो बैंकले यो वर्ष १८ करोड ६८ लाखको विन्दूमा पुर्याएको हो । 

यो बैंकले यस अवधिमा ३८ करोड ३८ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो बैंकको खूद ब्याज आम्दानी २० करोड ७२ लाख रुपैयाँ मात्र थियो । खूद ब्याज आम्दानीतर्फको यति लोभलाग्दो प्रगतिको अर्थ हो, सिद्धार्थ डेभलपमेन्ट बैंकले व्यवसाय बिस्तारमा एग्रेसिभ मुुभ लिइरहेको छ । 

यो अवधिमा बैंकले १४ अर्ब २१ करोड निक्षेप संकलन गरी १२ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ८ अर्ब ८६ करोड निक्षेप संकलन गरी ६ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकले निस्क्रिय कर्जा भने केही बढेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २.०९ प्रतिशत रहेको  निस्क्रिय कर्जा बढेर यो वर्षको सोही अवधिमा २.७८ प्रतिशत पुुगेको छ । तर पहिलो त्रैमासको तुलनामा भने दोश्रो त्रैमासमा निस्क्रिय कर्जा घटेको छ । 

बैंकको प्रति सेयर आम्दानी २६.३३, प्रति सेयर नेटवर्थ १ सय २९ रुपैयाँ ४५ पैसा र मूल्य आम्दानी अनुपात १२.२३ गुणा कायम भएको छ । दोश्रो त्रैमाससम्म यो बैंकको चुक्तापूँजी १ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ पुुगेको छ भने जगेडा कोषमा ४१ करोड ७९ लाख रुपैयाँ रहेको छ । बैंकले प्रोभिजनमा ४ करोड २० लाख रुपैयाँ छुटाएको छ ।