काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको यो नाफा गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ८७.५९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ५ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९१ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल १.७६ प्रतिशतमा सीमित थियो। एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर २ करोड २९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो चार्ज ७६ लाख ५० हजार रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ८७.५९ प्रतिशतले घटेको छ। गत वर्ष ७ करोड ५४ लाख रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिसम्म घटेर ९३ लाख ६४ हजार रुपैयाँमा सीमित बनेको छ।

यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि १३.२४ प्रतिशतले घटेर १५ करोड ३० लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १७ करोड ६४ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९३ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। 

संस्थाले रिजर्भको आकार ३२.६० प्रतिशतले घटेको छ। गत वर्ष १२ करोड ३३ लाख रुपैयाँ रहेको रिभर्जको आकार यो वर्ष घटेर ८ करोड ३१ लाख रुपैयाँमा खुम्चिएको छ। 

चुक्तापुँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २४.४४ रुपैयाँबाट घटेर २.७३ रुपैयाँमा झरेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) २२८.६९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३२.११ रुपैयाँ रहेको छ।