काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा आफ्नो आठौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । 

जेठ ६ गते एक कार्यक्रमका बीच सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य सुरेशकुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त रुपमा गरेका हुन् ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि बैंकले प्रतिनिधिको रुपमा मतिबुल राईनलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारका लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । 

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन् ।

एनआइसी एशिया शाखा सञ्जालको हिसाबले देशकै सबैभन्दा ठूलो र बलियो बैंक हो ।