काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफूलाई  दोश्रो त्रैमासको तुलनामा तेश्रो त्रैमासमा सुधार गरेको छ । यो बैंकको खूद नाफा र संचालन नाफा घटे पनि केही मुख्य सूचकहरुमा सुधार देखिएको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ अर्ब माथि खूद नाफा आर्जन गरेको यो बैंक एकअर्बबाट तल झर्दै यो वर्ष ८१ करोड ५० लाखमा सीमित बन्न पुगेको हो । 

अघिल्लो वर्ष १ अर्ब ३३ करोडको उचाईमा रहेको संचालन  नाफा समेत घटेर यो वर्ष १ अर्ब २१ करोडमा सीमित बन्न पुगेको छ । 

बैंकले समीक्षा अवधिमा ६८ अर्ब ४३ करोड निक्षेप संकलन गरी ६२ अर्ब २१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ५८ अर्ब ४ करोड निक्षेप संकलन गरी ५३ अर्ब ५ करोड कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ७५ करोड रुपैयाँ रहेको रिजर्बकोषमा सामान्य वृद्धि गरी १ अर्ब ७९ करोड पुर्याइएको छ । 

व्यवसाय बिस्तारमा खासै ध्यान नदिंदा बैंकको खूद ब्याज आम्दानीतर्फ पनि खासै प्रगति हुन सकेन । अघिल्लो वर्ष १ अर्ब ७५ करोड रुपैयाँ रहेको यस्तो आम्दानी यो वर्ष १ अर्ब ७८ करोड भएको छ । 

अघिल्लो वर्ष ६ अर्ब ५९ करोड रुपैयाँ रहेको चुक्तापुँजीमा  २२ प्रतिशतको वृद्धि गरी ८ अर्ब ५ करोड पुर्याएको बैंकले नाफामा पनि क्षति व्यहोर्दा प्रतिसेयर आम्दानीमा पहिरो गएको छ । अघिल्लो वर्ष २०.३१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर यो वर्ष १३.४९ रुपैयाँ कायम भएको हो ।

अघिल्लो वर्ष ०.३६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा यो वर्ष ०.३५ प्रतिशतमा सीमित भएको छ ।  

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२२.२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.४४ गुणा कायम भएको छ ।