– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपालमा हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंक पनि एउटा हो। यो बैंकका काठमाण्डौ उपत्यकाभित्र र बाहिर गरेर १५५ वटा शाखा रहेका छन्। यो बैंकले डिजिटल बैंकिङ, लकर, निक्षेप तथा कर्जा परिचालनको सेवा दिँदै आएको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको चुक्तापुँजी १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ रहेको छ। बैंकको सेयर प्रिमियम ३ करोड ८ लाख रुपैयाँ, रिटेन अर्निङ १ अर्ब ६ करोड ५७ लाख रुपैयाँ र रिजर्भ ४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७.५७ पैसा रहेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकको ईपीएस २०.१७ पैसा रहेको थियो। यो भनेको ईपीएसमा करिब १३ प्रतिशतको गिरावट हो। 

हाल बैंकको बुक भ्यालु १५४.४९ रुपैयाँ, रिटर्न अन इक्विटी ११.३८ प्रतिशत र खरा कर्जा अनुपात (एनपीएल) २.७५ प्रतिशत रहेको छ। बैंकको ८ वर्षको औसत लाभांशदर १४.५ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

सुपर ट्रेन्डका आधारमा

सुपर ट्रेन्डका आधारमा यो बैंकको सेयर अझै पनि बुलिस नै रहेको देखिन्छ। यदि मूल्यरेखाले ट्रेन्ड लाइनलाई तलबाट काट्छ र ट्रेन्ड लाइन हरियो नै रहन्छ भने त्यो अवस्थामा बैंकको सेयर बुलिस नै रहेको मान्न सकिन्छ। 

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो बैंक हाल न्युट्रल सेन्टिमेन्टमा रहेको छ। यो भनेको यस बैंकको सेयर लगानीकर्ता अक्रामक रुपमा खरिद तथा बिक्री दुवै गर्न तयार छैनन् भन्ने हो। बैंकको प्रतिकित्ता सेयर ५२ साताको न्यून मूल्य २०४ रुपैयाँ र उच्च मूल्य २८२ रुपैयाँ रहेको छ। हाल दोस्रो बजारमा यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २२४ रुपैयाँ रहेको छ। 

यो बैंकमा ५१ प्रतिशत संस्थागत समूह र ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

यो बैंकको बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाहरुले मध्य ब्यान्डमा सपोर्ट लिएको छ। यसले करिब–करिब सेयरमूल्य घट्न रोएिको देखिन्छ। 

म्याक्डीमार्फत हेर्दा भने हिस्टोग्राम पोजिटिभ  भए पनि क्रमशः छोटा–छोटा हुँदै गएको अवस्था रहेको छ। तर, बियरिस क्रसओभर भने भइसकेको अवस्था भने होइन। 

आरएसआई ४८ को न्युट्रल जोनमा रहेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा अल्पकालमा यो बैंकको सेयरमा केही करेक्सन हुन सक्ने देखिन्छ। 

पिभटका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २३२
  • प्रतिरोध २– २३८
  • प्रतिरोध ३– २४४

पिभट प्वइन्ट: २२६

घटेमा सपोर्ट 

  • सपोर्ट १– २२०
  • सपोर्ट २– २१४
  • सपोर्ट ३– २०८

निष्कर्ष

आधारभूत रुपमा यो बैंक बलियो नै रहेको देखिन्छ। बैंकको रिजर्भ, रिटर्न अन इक्विटी तथा सेयर प्रिमियम पनि राम्रै रहेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको रिटर्न अन इक्विटी तथा खुद नाफा भने केही घट्दो क्रममा देखिन्छ। बैंकको खराब कर्जा पनि केही बढेको छ। 

प्राविधिक रुपमा हेर्दा यो बैंकमा अल्पकालमा केही करेक्सन हुन सक्छ भने दीर्घकालमा लगानीका लागि भने उत्तम नै रहेको छ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।