-भक्तराज रसाइली 
काठमाण्डौ । विगत २६ वर्षदेखि पत्रकारिताको क्षेत्रमा रहँदै पूँजीबजारमा समेत लगानी गर्दै आएका एक पात्र हुन् तिलक कोइराला। 

हकरदेखि सम्पादकसम्म भएका उनले बजारमा आएर ठूला लगानीकर्ताको छवि बनाएका छन् । पूँजीबजारमा कतिपय लेखरचनाका कारण बेला बेला विवादमा आइरहने पात्र समेत हुन् कोइराला । 

हाल कोइराला काठमाण्डौ अनामनगरका बासिन्दा हुन् । 

पत्रकारितामा स्नातकोत्तर अध्ययन गरेका कोइराला सेयरमै लगानी गर्दै आइरहेको सेयर लगानी कम्पनी प्रालिमा संचालक समेत छन् । 

आफूलाई पूँजीबजारको विकासमा समर्पित भएको व्यक्ति ठान्ने कोइराला बजारमा व्याप्त समस्यामध्ये कम्तीमा १० वटा सुधारका लागि लड्ने बताउँछन् । 

चितवनमा रहँदा कक्षा ७-८ पढ्दापढ्दै कुनै कार्यक्रम भएमा टिपोट गर्ने र गाउँलेहरुलाई सुनाउने रुचिकै कारण आफू बाल्यकालदेखि नै पत्रकारिताको क्षेत्रमा आउने कोइरालाले  सपना देखेका थिए। 

नवप्रवेशी सपना बुनेर काठमाण्डौ खाल्डो छिर्ने गर्छन् । बाल्यकालदेखि नै  पत्रकार बन्ने रूचिलाई सार्थक बनाउन कोइरालाले समेत एउटा  सपना बुनेर आए। पिता चूडामणि कोइरालाले दिएको ५ हजार र तत्कालीन नेकपा मालेकी नेतृ सीता पौडेलबाट प्राप्त २ हजार गरी जम्मा ७ हजार गोजीमा बोकेर २०५० सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता पढ्न भर्ना भए। 

सोही बेलादेखि नै मिडियामा आवद्ध कोइराला सन्ध्याकालीन पत्रिका अलकापुरी दैनिकमा समाचारदाता र  हकरका रूपमा पत्रिका बेचेका दिनहरु सम्झँदा भावुक बने । उनको परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । संघर्ष गरेर दुःखका अनेकन पहाडहरु छिचोल्दै आएको दिनसम्म आइपुगेको उनले सुनाए । 
 
गोर्खापत्र, सगरमाथा दैनिक ,नेपाल वान, इमेज टेलिभिजन, एभरेस्ट दैनिक लगायत २३ मिडियामा काम गरेको अनुभव बोकेका उनले २६ वर्षदेखि निरन्तर कलम चलाइरहेका छन् । 

२०५८ सालताका नेपाल वान टेलिभिजनमा आर्थिक बिट सम्हालेका सहकर्मी केशव अधिकारीको सिको गर्दै एकैचोटि दोस्रो बजारमा हाम फाले। दोस्रो बजारबाट आइसीएफसी फाइनान्स र किष्ट फाइनान्सको सेयर किन्दै सेयर बजारमा छिरेका कोइरालाले सुरुमै आइसीएफसी फाइनान्सबाट १ महिनामै डेढ लाख नाफा कमाए । अनि त उनमा पनि सेयरको नशा चढ्दै गयो । 

तत्कालीन  ग्लोबल बैंकको १ सय कित्ता आवेदन गरेकोमा २० कित्ता आइपीओ हत्याए।पछि सो सेयर प्रतिकित्ता ५ सयमा बेच्न भ्याएका कोइरालाले हाल खुलेका राम्रा कम्पनीका सेयरमा लगानीलाई निरन्तरता दिइरहेका छन् । २०५८ सालताका नै मासिक १५ हजार तलब बुझ्ने गरेकामा त्यतिबेला घरजग्गा र सेयर गरेर लगानीको २ विकल्प रहेको उनले सम्झिए।  ‘तर मैले  चाहिँ सेयरमा लगानी नै रोजे।’

गत साल सेयर बजारकै इतिहासमै पहिलोपटक आमरण अनशन समेत बस्न भ्याएका उनै कोइरालालाई सेयरबाट जोगी भएर अनशन बसेको भन्नेसम्मको आरोप लाग्यो । ‘खासमा मसँग थप लगानी गर्ने पैसा अहिले छैन । १८८१ नेप्से इन्डेक्स हुँदा मेरो लगानीको पोर्टफोलियो प्लस २ सय प्रतिशत थियो, तर अहिले करिब ५–७ प्रतिशत मात्रको गिरावट छ ।’ उनले भने ।

सेयरमा कति लगानी छ नि ? भन्ने जिज्ञासामा ठट्यौली शैलीमा भने–‘बजारमा त १४ करोड छ भन्ने हल्ला छ । ख्वै अब तपाई आफैं खोज्नुस सोध्नुस् बजारलाई ।’ 

उनको लगानी केही करोड भएको अनुमान उनको ठट्टा र भनाईबाट समेत लगाउन सकिन्छ । 

अठार वर्षदेखि सेयर बजारमा गरेको लगानीले उनमा निखारता ल्यायो । लहैलहैमा नलागी केही राम्रा कम्पनीमा लगानी विविधिकरण गर्दै लगानी गरिए उच्च घाटा भई पुर्पुरोमा हात लगाउन नपर्ने कोइरालाको दाबी छ। 

‘हावादारी कुरा र हल्लामा आधारित भएर भएभरको पैसा जसले खन्याउँछ, त्यो जोगी बन्छ ।’ उनको ठोकुवा छ ।

जोखिम वहन क्षमता बलियो बनाउन जोड दिंदै कोइराला भन्छन् –‘अरुको देखेर करोडपति बन्ने सतही सपना हो भने मिहिनेत खेर जाने क्षेत्र हो सेयर बजार ।’

नेप्सेमा सूचीकृत  राम्रै कम्पनीको समेत ग्यारेन्टी नहुने जिकिर गरेका कोइरालाले अध्ययन, विश्लेषण अनि सही समयमा सही निर्णय लिनुपर्ने सुझाव दिन्छन् । लाभांशमा आधारित दीर्घकालीन लगानी नै जोखिम घटाउने सम्यन्त्र भएको कोइरालाको बुझाइ छ। 

सेयर लगानीकै अन्तरालमा कोइरालाले नबिल बैंकमा गरिएको १० लाख लगानी १ महिनामै  १५ लाख बनाएर ५ लाख नाफा बूक गरेको रोचक प्रसङ्ग समेत सुनाउन भ्याए । 

यसैगरी एभरेस्ट बैंकको सेयर ७ सयमा किनेर २ हप्तापछि ९ सयमा बेचेको कोइरालाले  स्मरण गरे। सो सेयर नामसारी भएर आउँदा नेपाली सेयर बादशाह निर्मल प्रधानले बेचेको उनले पत्ता लगाए । प्रधानले सस्तोमा बेचेर  फेरि महँगोमा सोही कम्पनीको सेयर उठाएको बताउँदै कोइराला भन्छन्–‘मैले सो घटनाले अनुकुल प्रतिकुलको पाठ सिकेको छु । अनि त मलाई झन् झन् उत्सुकताको पारो चढ्दै गयो, सेयरको नशा बढ्दै गयो ।’

सेयरको नशा उनमा यस्तरी चढ्यो कि, त्यसपछि त घर समेत बाँकी रहेन । घरै बेचेर उनले सेयरमा पैसा खन्याए ।

तत्कालीन ग्राण्ड बैंकको सेयरमा १५ लाख लगानी ओइराउँदा ५० प्रतिशत घटेपछि बेच्ने बेला तीतो अनुभव रहेको उनी सम्झन्छन् । 

नयाँ लगानीकर्ताले बुद्धि पुर्याएर सेयरमा लगानी नगरे डूब्ने सम्भावना धेरै रहेको कोइरालाको बुझाइ छ। 

अहिलेको सरकार हदैसम्म गैरजिम्मेवारदिएको दाबी गरेका कोइरालाले नियामक निकायसमेत कमजोर र अनेकन चलखेलमा लिप्त रहेको आरोप लगाए। ‘नेप्से र सेबोन नियामक हुन् , तर यो सरासर भ्रम र गलत धारणा हो। वास्तविक नियामक अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक नै हुन् ।’ उनले भने–‘नेप्से र सेबोन त केबल कारिन्दाको  मात्र हैसियत राख्छन् ।’

मिडिया प्रयोग, ब्रोकर अफवाह, कम्पनीका भित्री सूचना चुहावट हुने गरेको उल्लेख गर्दै कोइरालाले नियामकसँग साँठगाँठ गरी आफूअनुकुल निर्णय गराउने प्रवृति मौलाउँदै गएको दाबी समेत गर्छन् । ठूला समूह लूट धन्दा मच्चाउन सफल बनिरहेका र कृत्रिम माग र आपूर्ति खडा गर्नेदेखि सेयर बजार प्रभाव पार्ने खेलहरु समेत पूँजीबजारमा धेरै नै हुने गरेको समेत उनको दाबी छ । 

सेयर बजार स्वार्थ बाझिने क्षेत्र भएको गुनासो गरेका कोइरालाले राम्रो गर्दा ताली हैन गाली खानुपर्ने ठाउँ भएको समेत सुनाए । 

बजार माथि नगएसम्म चिन्ता नलिन उनको सल्लाह छ। नेप्से इण्डेक्स तलमाथि हुन्छ भनी आउने प्रक्षेपणहरु हावादारी विश्लेषण भएको उनको ठम्याइ छ। इण्डेक्सको अनुमान कसैले लगाउन नसक्ने जिकिर गरेका कोइराला सेयरको मूल्य ४०–५० प्रतिशत बढे बेचेर बजारबाट निस्कन सुझाउँछन। 

सेयर बजारलाई लूडो खेलको सर्पसँग तुलना गर्दै उनी लूडो खेले झै मूखमै पुगेर एकाएक तल झर्नसक्ने स्थिति पनि आउँनसक्ने बताए । ‘करोडपति हुने सपना पालेको मान्छे रातारात मैले रोडपती समेत  भएको देखेको छु ।’उनले भने–‘ठूला मान्छेका कम्पनी पनि लगानीकर्ताका लागि घातक हुन्छन्।  एभरेस्ट इन्स्योरेन्स कम्पनी त्यसको एउटा उदारहण हो । यो कम्पनीको ३ हजार हालेर किन्नेको हविगत अहिले हेर्नुहोस् । कम्पनीको व्यक्ति मात्र हैन, भित्री अवस्था, संस्थापक समेत चिन्न सक्नुपर्छ ।’

हाल नेप्से इन्डेक्स २९२ को विन्दू भन्दा तल रहेको जिकिर गरेका कोइराला २१ खर्ब रुपैयाँ  बजार पूँजीकरणबाट १५ खर्ब रुपैयाँ बराबरको आइपीओ र हकप्रद थपिन पुग्दा ३५ खर्ब बजार पूँजीकरण पुग्नुका साटो अहिले १५ खर्ब रुपैयाँमा सीमित भएको, जुन नेप्से सूचक २९२ विन्दूभन्दा धेरै तल रहे बराबर हो । 

सरकारले अविलम्ब रेस्क्यू नगरे पूँजीबजारमा महासंकट आउने उनको बुझाइ छ। ‘सन् १९३० मा अमेरिकी अर्थतन्त्रमा भएको मन्दीबाट सेयर बजार नराम्रोसँग क्र्यास भएजस्तै नेपालमा पनि आत्महत्या दुरुत्साहन र सरकार विरोधी आवाजले सडक तात्ने छाँटकाट देखिन्छ।’,उनले बिजशालासँग भने–‘हामी जोसुकै छौं पूँजीबजार राम्रो भए सबैलाई फाइदा हुन्छ।’

सेयर बजार देशको अर्थतन्त्रको ऐना भएकोले बिदेशी लगानी आकर्षित हुने माध्यम समेत भएको कोइरालाको तर्क छ। सरकार बेलैमा गम्भीर हुनुपर्नेमा उनको जोड छ ।