काठमाण्डौ । स्वरोजगार लघुवित्त विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ करोड ६५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा २ करोड ८३ लाखमा सीमित थियो । 

यो माइक्रोफाइनान्स कम्पनीले व्यवसाय बिस्तारमा औसत प्रगति गरेका कारण खूद ब्याज आम्दानी ३५ प्रतिशतको हाराहारीमा बढेको छ । अघिल्लो वर्ष ९ करोड ३५ लाख रहेको यस्तो आम्दानी बढेर १२ करोड ६७ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीले ७८ करोड २३ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ४१ करोड बढी  सापटी लिई २ अर्ब १३ करोड बढीको कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्ष ४७ करोड ४६ लाख निक्षेप संकलन गरी तथा ७६ करोड ५५ लाख बढीको सापटी लिई १ अर्ब २६ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षसम्म ३  करोडमा सीमित रिजर्बमा ११७.०६ प्रतिशतको फड्को मारी ६ करोड ६४ लाखको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष ४ करोड २५ लाखमा सीमित संचालन मुनाफा बढेर ५ करोड २८ लाखको उचाईमा पुगेको छ । 

कम्पनीमा खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ०.२२ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जा बढेर ०.३६ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २९.८७ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष २५.९० रुपैयाँ रहेको थियो । 

कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.९६ गुणा कायम भएको छ ।