काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गर्दै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औँ वार्षिक साधारणसभा (एजीएम) शुक्रबार सम्पन्न भएको छ। 

संस्थाकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा काठमाण्डौमा बसेको सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।  

संस्थाले आर्थिक वर्ष २०७८–७९ मा रु.२९ करोड ५ लाख १४ हजार १ सय १० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो। सभाले आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान हिसावलगायत अन्य वित्तीय विवरण समेतपारित गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा तथा उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयमार्फत २ लाख ६३ हजार ७० महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। सो अवधिमा संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु. २० अर्ब ७० करोड ५० लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा रु. १२ अर्ब ६९ करोड ७ लाख रहेको छ। 

राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरीय र ग्राहकमुखी सेवा विस्तारको योजनाका साथ अगाडि बढेको संस्थाको अधिकृत पुँजी २ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पुँजी रु. १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ। 

सभाले इजाजतपत्र प्राप्त एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्तावसमेत पारित गरेको छ।