काठमाण्डौ । शुक्रबार मात्र ग्लोबल आइएमई बैंकसँग एक्वीजिसनको सम्झौता गरेको रिलायवल डेभलपमेन्ट बैंकले संस्थागत जालसाजी गर्न खोजेको आरोप लगाउँदै सेयर लगानीकर्ता संघले विरोध जनाएको छ । 

सेयर लगानीकर्ता संघ नेपालले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै रिलायवल डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाबाट पारित १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रियालाई अगाडि नै नबढाई ग्लोबल आइएमई बैंकमा बिलय हुन लागेको दाबी गरेको छ । 

‘यस्तो कार्यले संस्थागत जालसाजी गर्न खोजिएको देखिन्छ ।’ संघका अध्यक्ष उत्तम अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘रिलायवलको यस्तो कामले धितोपत्र बजारमा सूचिकृत कम्पनीप्रति लगानीकर्ताको अविश्वसनीयता बढ्न गई समग्र पूँजीबजारलाई नै गम्भीर असर पार्न सक्छ ।’ 

संघले हकप्रद सेयर निश्कासन सम्बन्धी स्पष्ट कानूनको अभावको फाइदा रियालयवले उठाएर लगानीकर्तालाई थाङ्नामा सुताउन खोजेको आरोप समेत लगाएको छ । 

रिलायवलको जस्तो फ्टयाईं आगामी दिनमा अरु बैंक तथा बित्तीय संस्थाहरुले समेत गर्नसक्ने औंल्याउँदै संघले हकप्रद सेयर निश्कासन सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ । 

रिलायवल डेभलपमेन्ट बैंकले नेपाल बंगलादेश बैंकसँगको मर्जर टुटेपछि आफैं पूँजी पुर्याउने भन्दै सतप्रतिशत हकप्रद जारीको घोषणा गरेको थियो । ७८ करोड ८० लाख चुक्तापूँजी भएको यो बैंकले सतप्रतिशत हकप्रद दिने भनेपछि यसको सेयरले पूँजीबजारमा केही दिनसम्म राम्रै कारोबार गरेको थियो । तर लगानीकर्तालाई उत्साहित बनाएर बैंकले भने एकाएक ग्लोबल आइएमईमा बिलय हुने सम्झौता गरेपछि हकप्रदको आशामा लगानी गरेर बसेका लगानीकर्ता हिस्स परेका हुन् ।