काठमाण्डौ । लक्ष्मी लघुवित्त बित्तीय संस्था लिमीटेडको खूद नाफामा संकुचन आएसँगै प्रतिसेयर आम्दानीतर्फ भने पहिरो गएको छ । 

ठूलो परिमाणमा हकप्रद निश्कासन गरी राष्ट्रबैंकले तोकेको पूँजी पुर्याउन लक्ष्मी लघुवित्तले प्रयास गरेको र सोअनुसारको कमाई गर्न नसक्दा प्रतिसेयर आम्दानीतर्फ पहिरो गएको हो । 

यो लघुवित्त कम्पनीले सोमबार चालुु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार यो अवधिमा लक्ष्मीले २ करोड २५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो लघुवित्तले २ करोड ४८ लाख नाफा कमाएको थियो । यसरी अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्ष यो कम्पनीको नाफा २३ लाखले घटेको छ । 

यो अवधिमा लक्ष्मी लघुवित्तले १ अर्ब ३० करोड सापटी लिएको छ भने ७२ करोड ६६ लाख बढी निक्षेप संकलन गरेको छ । कम्पनीले यो अवधिमा २ अर्ब ३२ करोड कर्जा परिचालन गरेको छ । कम्पनीको खूद ब्याज आम्दानी गत वर्षको भन्दा करिब ७ प्रतिशतले बढेर ५ करोड ९० लाख हाराहारीमा पुुगेको छ । गत वर्ष यही अवधिमा कम्पनीको खूद ब्याज आम्दानी ५ करोड ५४ लाख रुपैयाँ थियो । 

कम्पनीको निस्क्रिय कर्जा पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ०.३ प्रतिशत रहेको यस्तो कर्जा बढेर ०.९३ प्रतिशत पुुगेको हो । गत वर्ष सतप्रतिशत हकप्रद निश्कासन गरेर बढेको पूँजी अनुसार कमाई गर्न नसक्दा यो कम्पनीको प्रति सेयर आम्दानी घटेर ३७.२१ रुपैयाँमा सीमित बन्न पुुगेको छ । गत वर्षको यही अवधिमा लक्ष्मी लघुवित्तको प्रतिसेयर आम्दानी ९०.४५ रुपैयाँ थियो । 

कम्पनीको प्रतिसेयर नेटवर्थ १५५.४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४३.५४ गुणा कायम भएको छ । गत वर्षको पहिलो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी ११ करोड रुपैयाँ रहेकोमा यो वर्ष बढेर २४ करोड माथि पुुगेको छ ।