काठमाण्डौ । नेपाल राष्ट्रबैंकका अधिकारीहरुले मौद्रिक नीतिमा खासै कडाई नगरिएकोले विकास बैंकहरुलाई आवश्यक परेको खण्डमा हकप्रद सेयर निश्कासनका लागि बाटो खोलिदिने रणनीतिमै आफूहरु रहेको बताएका छन् । 

विकास बैंकका केही सीइओहरुसँगको अनौपचारिक छलफलका क्रममा राष्ट्रबैंकका अधिकारीहरुले मौद्रिक नीतिमै पनि विकास बैंकहरुको विषयमा नरम नीति लिएको उदाहरण दिंदै हकप्रद सेयर निश्कासन गर्न नरोकिने बताएका हुन् । 

केही विकास बैंकका सीइओहरुसँग राष्ट्रबैंकका अधिकारीहरुको आइतबार बालुवाटारमा छलफल गरेका थिए । सो क्रममा उनीहरुले कोर क्यापिटलको २५ प्रतिशत ऋणपत्र जारी गर्दा समेत विजिनेश गर्ने फण्डको अभाव भएको खण्डमा सबैलाई क्रमैसँग हकप्रद निश्कासन गर्न दिने नीति अख्तियार गरिने जानकारी दिएका बताइएको छ । ‘राष्ट्रबैंकले आवश्यक परेको खण्डमा हकप्रद जारी गर्न दिने आशयकै मौद्रिक नीति ल्याइसकेको छ ।’ छलफलमा सहभागी एक विकास बैंकका सीइओले बिजशालासँग भने–‘ढिलोचाँडो विकास बैंकहरुले हकप्रद निश्कासन गर्ने बाटो खुल्ने नै भयो ।’ 

विकास बैंकका सीइओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)का अधिकारीहरु समेत हकप्रद सेयर निश्कासनको बाटो खुल्ला हुनेमा ढुक्क देखिएका छन्।

बिजशालासँग कुरा गर्दै डिबानका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका सीइओ प्रद्युमन पोखरेलले राष्ट्रबैंकले मौद्रिक नीतिमै विकास बैंकहरुलाई मर्जरमा नलैजान खोजेकोबाट नै बाँकी रहेका संस्थाहरुलाई जोगाउने उद्देश्य प्रष्ट देखिएको बताए । ‘केन्द्रीय बैंकले मौद्रिक नीतिमा विकास बैंकहरुले हकप्रद जारी गर्न नपाउने भनेर कहीँ भनेको छ र ?’ प्रश्न गर्दै उनले बिजशालासँग भने–‘विकास बैंकहरुको पूँजीको आकार ठूलो नभई त्यस्ता संस्था बाँच्न सक्दैनन् । तसर्थ हकप्रदबाट पूँजी वृद्धि गर्ने  विकल्पमा समेत जानुपर्ने आवश्यकता छ।’ 

पोखरेलले विकास बैंकहरुलाई आवश्यक परेको खण्डमा हकप्रद सेयर निश्कासनको बाटो खुल्ला गर्ने नीति राष्ट्रबैंकले जारी गर्ने एकीकृत निर्देशिकामै आउनसक्ने संभावना व्यक्त गरे । ‘यो विषय चाँडै सम्बोधन हुन्छ भन्ने आशा गरेका छौं ।’ पोखरेलले भने–‘राष्ट्रबैंक नेतृत्व विकास बैंकलाई जोगाउने र सवल बनाउने विषयमा निकै सकारात्मक छ, हामी उत्साहित छौं ।’ 

राष्ट्रबैंकले विकास बैंकहरुले राखेका धेरैवटा सुझावलाई मौद्रिक नीतिमा समेटेकोमा खुशी व्यक्त गरेका उनी बिजिनेश बढ्दै गएपछि विकास बैंकलाई बचाउने हो भने राइट सेयरको बाटो खुल्लै राख्नुको विकल्प नै नभएको दाबी गर्छन् । ‘जब आवश्यकता पर्छ, तब राष्ट्रबैंकले हकप्रद जारी गर्न दिन्छ भन्ने विश्वास छ ।’ पोखरेलले थपे–‘हामी यो विषयमा राष्ट्रबैंकलाई घचघच्याइराख्छौं ।’

डिबानका पूर्वअध्यक्ष तथा गरिमा विकास बैंकका सीइओ गोविन्दप्रसाद ढकालले राष्ट्रबैंकले हकप्रद जारी गर्न बाटो नखोले विकास बैंकहरुको विजिनेश नै ठप्प हुने बताउँछन् । ‘अब सबै विकास बैंकहरुलाई पूँजी बढाउन दिनुपर्छ र अझ सवल र प्रतिस्पर्धी बनाइनुपर्छ ।’ उनले बिजशालासँग भने–‘हामी यो विषयमा लविङ पनि गरिरहेका छौं ।’ 

उनको बुझाईमा राष्ट्रबैंकले पहिला सबै विकास बैंकहरुलाई कोर क्यापिटलको २५ प्रतिशतका दरले ऋणपत्र जारी गर्न लगाउनेछ । ‘त्यसपछि पनि पुगेन भने हकप्रद निश्कासनमा नगई धरै छैन ।’ ढकालले थपे–‘छिटोमा एकीकृत निर्देशिकामार्फत र ढिलोमा पनि पुससम्ममा हकप्रद निश्कासनको प्रष्ट नीति आउने आशा गर्न सकिन्छ।’