काठमाण्डौ । सुनसरीको धरान मुख्य कार्यालय रहेको हाथवे फाइनान्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ करोड ७७ लाख खूद नाफा आर्जन  गरेको छ । नाफामा यो कम्पनीले अघिल्लो वर्षको तुलनामा १५५७ प्रतिशतले छलाङ मारेको हो । अघिल्लो वर्ष कम्पनीको नाफा १० लाख ७१ हजारमा सीमित थियो ।

यो अवधिमा कम्पनीले संभावित जोखिम व्यवस्थापन  कोषबाट ३ करोड ५५ लाख फिर्ता ल्याएको छ । 

कम्पनीले खराब कर्जा असूलीमा चमात्कार देखाएको छ । अघिल्लो आबको तेश्रो त्रैमाससम्म कम्पनीमा खराबकर्जाको अनुपात ९१.०१ प्रतिशत रहेकोमा त्यसलाई घटाएर समीक्षा अवधिसम्म ८.३९ प्रतिशतमा झार्ने सफलता प्राप्त भएको हो ।

यो कम्पनीले व्यवसाय बिस्तारमा  आक्रामक नीति  लिएका कारण खूद ब्याज आम्दानीमा  पनि उस्तै चमात्कारिक प्रगति गरेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १४ लाख ८२ हजार रहेको यस्तो आम्दानी बढेर यो वर्ष ३ करोड १६ लाखको उचाईमा पुगेको हो ।

खूद नाफा र ब्याज आम्दानीमा चमात्कारिक फड्को मारे पनि कम्पनी संचालन घाटामा  रहेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म २ लाख ५२ हजार रहेको संचालन घाटा बढेर यो वर्ष १ करोड ५९ लाख पुगेको छ । 

यो  कम्पनीको स्टाफ खर्च तथा अन्य संचालन  खर्च थामिनसक्नु गरी वृद्धि  भएको देखिन्छ । 

समीक्षा  अवधिमा हाथवे फाइनान्सले २२ करोड ८१ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष करिब ५२ लाख कर्जा परिचालन गरेको थियो ।
केही सूचकहरुमा फड्को मारेको हाथवेको रिजर्ब कोषको  ऋणात्मक अवस्थामा केही सुधार भएको देखिएको छ । अघिल्लो वर्ष १५ करोड २८ लाखले ऋणात्मक रहेको रिजर्ब ११ करोड ८३ लाखले ऋणात्मक बनेको छ ।